राति खेल्ने अभ्यास नहुँदा हाम्रा खेलाडी वेस्ट इन्डिजमा भौँतारिए: सांसद चौधरी

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०८१, १५ : १३
राति खेल्ने अभ्यास नहुँदा हाम्रा खेलाडी वेस्ट इन्डिजमा भौँतारिए: सांसद चौधरी

काठमाडौं। राति खेल्ने अभ्यास नहुँदा नेपालले टी–ट्वान्टी विश्वकपमा शनिवार दक्षिण अफ्रिकासँग हार व्यहोर्नु परेको एक सांसदले तर्क गरेका छन् ।

आइतवार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले राति खेल्ने अनुभव नभएका कारण नेपाली खेलाडी वेस्ट इन्डिजमा भौँतारिएको बताएका हुन् ।

‘देखिएको कुरा के भने हाम्रा खोलाडीहरू एउटा त बाहिर गएर दक्षिण अफ्रिकासँग खेल्नु पर्ने । अर्को हाम्रा खेलाडीलाई राति खेल्ने प्राक्टिस छैन,’ उनले भने, ‘हिजो वेस्ट इन्डिजमा खेलिएको गेम लाइटमा थियो हाम्रा खेलाडी भौँतारिएकोजस्तो थियो ।

उनले कुनै व्यवस्था गरेर खेल मैदानमा रात्रिकालीन बत्ती राख्ने व्यवस्था गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । ‘खेल मैदानमा, अरु नभएपनि क्रिकेट पिचमा लाइट लगाउने व्यवस्था गर्नु होला, हाम्रा खेलाडीले रातिमा प्राक्टिस गर्न सकुन्,’ उनले भने ।

शनिवार बिहान भएको खेलमा नेपाल अनुभवी टोली दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस