टी-२० विश्वकप : अमेरिकालाई पराजित गर्दै भारत अन्तिम आठमा

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, ०७ : ०४
टी-२० विश्वकप :  अमेरिकालाई पराजित गर्दै भारत अन्तिम आठमा

File pic

काठमाडौं । भारत आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ।

गएराति आयोजक अमेरिकालाई पराजित गर्दै भारतले समूह चरणको अन्तिम खेल बाँकी छँदै अन्तिम आठमा स्थान पक्का गरेको हो।
समूह चरणमा लगातार तेस्रो खेल जित्ने क्रमम बुधबार राति भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो।

न्युयोर्कमा घरेलु टिमले दिएको १११ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर १८.२ ओभरमा पार गर्‍यो। भारतका लागि सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे। उनी ४९ बलमा २ चौका र २ छक्का प्रहार गरी ५० रन बनाउँदै नट आउट रहे।

शिबम दुबे पनि ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेर नट आउट रहे। त्यसअघि रिशभ पन्तले २० बलमा १ चौका र १ छक्का प्रहार गरी १८ रनको योगदान गरे। ओपनर विराट कोहली पहिलो बलमै आउट भएका थिए भने कप्तानसमेत रहेका अर्का ओपनर रोहित शर्मा ६ बल खेलेर ३ रन बनाउँदै आउट हुन पुगेका थिए।

बलिङतर्फ अमेरिकाका शौरभ नेत्रवल्करले २ तथा अली खानले १ विकेट लिए। पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर ११० रनको योगफल तयार गरेको थियो। त्यस क्रममा नितिश कुमारले २४ बल खेलेर २ चौका र १ छक्का प्रहार गरी बनाएको २७ रन सर्वाधिक रह्यो।

ओपनर स्टेभेन टेलरले ३० बलमा २ छक्का प्रहार गरी २५ रन बनाए। कोरे एन्डरसनले १५, कप्तान आरोन जोन्सले ११, हर्मित सिंहले १० रन जोडे।  बलिङतर्फ भारतका अर्शदीप सिंहले चार विकेट लिए। हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले १ विकेट लिए।

भारतले अन्तिम आठमा स्थान पक्का गर्दा अमेरिका ३ खेल खेल्दै ४ अंक जोडेर समूहको दोस्रो स्थानमा  छ। शीर्ष दुईमा रहने टोली अन्तिम आठमा प्रवेश गर्नेछन्। पाकिस्तान र क्यानडा २ खेलमा पराजित हुँदै २र२ अंकका साथ तेस्रो र चौथो स्थानमा छ। २ खेल मात्रै खेलेको आयरल्याण्ड अंकबिहीन हुँदै पुछारमा छ।