मलावीका उपराष्ट्रपति चढेको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

एजेन्सी

बुधबार, ३० जेठ २०८१, १४ : ३१
मलावीका उपराष्ट्रपति चढेको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं । मलावीका उपराष्ट्रपति चढेको बेपत्ता विमानको भग्नावशेष मलावीमा फेला परेको छ, उद्धार टोलीले बताएअनुसार कोही पनि बाँचेका छैनन्। उक्त विमानमा उपराष्ट्रपति सोलोस चिलिमा बाहेक अन्य धेरै व्यक्ति पनि सवार थिए । बाक्लो कुहिरो र जङ्गलका कारण विमान पत्ता लगाउने प्रयासमा बाधा पुगेको थियो ।

राष्ट्रपति लाजरस चकवेराले विमानको भग्नावशेष फेला परेको तर कोही पनि जीवित नभेटिएको बताएका छन् ।यो सैन्य विमान खराब मौसममा उडिरहेको थियो। त्यसमा उपराष्ट्रपति सोलोस चिलिमा बाहेक नौ जना थिए ।

देशको उत्तरी क्षेत्रमा घना जंगलको बीचमा विमान दुर्घटना भएको एक उच्च सैन्य अधिकारीले बताएका छन् ।उज्यालो कम भएका कारण यो विमान जुजु विमानस्थलबाट फर्किएको थियो । अमेरिकाले खोज अभियानमा सहयोग गर्न विमान पनि उपलब्ध गराएको छ ।

आगामी वर्ष मलावीमा राष्ट्रपतिको निर्वाचन हुने भएकाले चिलिमाले वर्तमान राष्ट्रपति चकवेरालाई चुनावमा चुनौती दिने विश्वास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस