बजेटले हामी कता जाँदैछौं भन्ने प्रारम्भिक खाका स्पष्ट गरेको छ : सञ्चारमन्त्री रेखा शर्मा

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, १२ : ०८
बजेटले हामी कता जाँदैछौं भन्ने प्रारम्भिक खाका स्पष्ट गरेको छ : सञ्चारमन्त्री रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी वर्षको बजेटले अब हामी कता जाँदैछौं भन्ने प्रारम्भिक खाका स्पष्ट गरेको बताएकी छिन् । आर्थिक पत्रकार समाजद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले हामी कता जाँदैछौं भन्ने प्रारम्भिक खाका स्पष्ट गरेको बताएकी हुन् ।

आइसीटी सेवा निर्यातको क्षेत्रमा विभिन्न कम्पनीमा तथा फ्रिलान्सर जनशक्तिले काम गरिरहेको सरकारसँग यथेष्ट तथ्याङ्क नरहेको उनले बताइन् । आइटी क्षेत्रको पछिल्लो अवस्थाका बारेमा पनि सरकारी अध्ययन आवश्यक रहेको उनको भनाई छ ।

मन्त्री शर्माले भनिन्-

आगामी वर्षको बजेटले अब हामी कता जाँदैछौं भन्ने प्रारम्भिक खाका स्पष्ट गरेको छ । आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहक क्षेत्रको रूपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने, ५ लाखलाई प्रत्यक्ष तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

अहिले सूचना प्रविधि सेवा निर्यातको क्षेत्रमा विभिन्न कम्पनीमा र फ्रिलान्सर गरेर एक लाख जनशक्तिले काम गरिरहेको भनिए पनि सरकारसँग यथेष्ट तथ्याङ्क छैन । यसको पछिल्लो अवस्थाका बारेमा पनि सरकारी अध्ययन आवश्यक छ । पछिल्लो अवस्थाका बारेमा पनि सरकारी अध्ययन आवश्यक छ ।

‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले पनि सूचना प्रविधि क्षेत्रका नीति र कानुन निर्माण तथा परिमार्जन गर्ने र डिजिटल नेपाल फ्रेमवर्कले निर्धारण गरेको डिजिटल फाउन्डेसनको काम गर्दै आएको छ ।

डिजिटल फाउन्डेसनअन्तर्गत खास गरी सार्वजनिक डिजिटल पूर्वाधार र त्यसमा दूरसञ्चार सेवाको विस्तारका लागि महत्त्वपूर्ण काम हुँदै आएका छन् ।

हामीले देशभरि नै उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा अहिलेसम्म झण्डै २५ हजार किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । भने नेपाल टेलिकममार्फत ७६ जिल्लामा फाइबर टू द होम ‘एफटीटीएच’ सेवा विस्तार गरिएको छ ।

अब सूचना प्रविधि दशकलाई मध्यनजर गर्दै नेपाल दूरसञ्चार प्राधिकरण र सबै सेवा प्रदायकमार्फत हामीले दूरसञ्चार सेवालाई देशका सबै भूभागमा सुलभ र गुणस्तरीय ढंगले विस्तार गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस