फिफा विश्वकप छनोट: युएईसँग प्रतिस्पर्धा गर्दै नेपाल

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, ०९ : २४
फिफा विश्वकप छनोट: युएईसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौ । फिफा विश्वकपको आगामी संस्करणको छनोट अन्तर्गत समूह ‘एच’ मा नेपाल बिहीबार युएईसँग दोस्रो खेल खेल्दै छ। यसअघि युएईको घरेलु मैदानमा भएको पहिलो खेलमा नेपाल ४-० ले पराजित भएको थियो।

‘होम’ म्याच अन्तर्गत यो खेल नेपालको दशरथ रंगशालामा हुनु पर्नेमा एएफसीले दशरथ रगंशाला खेल्न अयोग्य रहेको भन्दै न्युट्रल भेन्युको प्रस्ताव गरेपछि साउदी अरेबियाको प्रिन्स मोहमद विन मैदानमा हुन लागेको हो।

नेपाली समयअनुसार खेल आज राति ८.४५ बजे सुरु हुने छ। फिफा वरीयतामा ६७ औं स्थानमा रहेको युएई विरुद्ध १७८ औं स्थानमा रहेको नेपालको लक्ष्य युएईलाई रोक्नु हुनेछ। नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले युएई समूहकै बलियो टोली भएको भन्दै उसलाई रोक्ने लक्ष्यका साथ मैदान उत्रिने बताए।

उनले खेलअघिको प्रि-म्याच कन्फ्रेन्समा भने, ‘युएई विरुद्ध राम्रो खेल्दै एशिया कपमा छनोटको सम्भावनालाई कायम राख्न चाहन्छौं। खेलमा हार जित जे भए पनि हामी उत्कृष्ट प्रदर्शनको प्रयासमा मैदान उत्रिने छौं।’

जारी विश्वकप छनोटको दोस्रो चरणमा नेपालले आफ्ना पाँच खेल खेल्दा एक गोल पनि गर्न सकेको छैन। विपक्षी टोलीले नेपालको पोस्टमा १४ गोल गरेका छन्। नेपालले पहिलो चरणमा समग्रमा लाओसलाई २-१ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो।

पोर्चुगिज प्रशिक्षक पाउलो बेन्टोको प्रशिक्षणमा रहेको युएईका खेलाडी शारीरिक, प्राविधिक र मानसिक रूपमा बलियो रहेको र विश्वकप छनोटको अघिल्लो चरण पुग्ने लक्ष्यमा रहेका छन्।