सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण : सचिव विष्ट

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, १५ : ५५
सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण : सचिव विष्ट

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सचिव विष्टले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको बताए । उनले सरकारले करका दर यथावत वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महसुल कम्तीमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको उल्लेख गरे ।

उनले चालु खर्च ६१ प्रतिशत, पुँजीगत १९ प्रतिशत, वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहाली लाग्दो अवस्था देखापरेको बताए । उनले यसका लागि सार्वजनिक पुनरावलोकन उच्चस्तरीय आयोगको सिफारिसलाई कार्यान्वयन गर्नको लागि संसदमा साझा सहमतिका साथ अगाडि जान नसके विकास र पुँजीगत खर्च केवल सपनामा मात्रै सीमित हुने अवस्था रहेको दाबी गरे ।

उनले चालु आर्थिक वर्षको अहिलेसम्म ८ खर्ब ७५ अर्ब राजश्व प्राप्त हुँदा आगामी आर्थिक वर्षको लागि १२ खर्ब ६० अर्बको लक्ष्य बढी चुनौतीपूर्ण देखिएको बताए ।सचिव विष्टले वैदेशिक अनुदानको हिसाबले हेर्दा हालसम्म १५ अर्ब मात्रै अनुदान प्राप्त भएको भन्दै आगामी आर्थिक वर्षमा ५२ खर्बको अपेक्षा यथार्थसँग मेल खाने सम्भावना कम रहेको बताए ।

उनले बजेटले पाँच उद्देश्य, प्राथमिकता, रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याएपनि त्यसको अनुपातमा कार्यक्रममा बजेट विनियोजन कम भएको बताए ।  

प्रतिक्रिया दिनुहोस