एमाले मकवानपुरको अध्यक्षमा चार जनाको उम्मेदवारी

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, १२ : ०६
एमाले मकवानपुरको अध्यक्षमा चार जनाको उम्मेदवारी

मकवानपुर । एमाले मकवानपुरको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी कायम रहेको छ । अध्यक्ष पदका आकांक्षी रधुनाथ खुललाले मनोनयन फिर्ता लिएसँगै ४ जनाको उम्मेदवारी कायम रहेको हो ।

निर्वाचन समितिले अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी कायम रहेको अन्तिम नामावली प्रकाशन गरेको हो । हिजो शनिवार साँझ ६ बजेसम्म निर्धारण गरिएको मनोनयन दर्ताको समयमा अध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।

अध्यक्ष पदमा देवराज रिमाल, इन्द्रमान स्याङ्तान, श्रीधर पोखरेल र लालबहादुर थापाको उम्मेदवारी कायम रहेको हो । अध्यक्ष पदका सशक्त उम्मेदवार खुलालले आन्तरिक सहमतिका लागि उम्मेदवारी फिर्ता गरेका हुन् । सहमतिका लागि तयारी गरिए पनि उम्मेदवारी फिर्ता गर्न कसैले इच्छा नदेखाएपछि खुलालले नाम फिर्ता लिएका हुन् ।

त्यस्तै उपाध्यक्ष पदका लागि परेको ४ जनाको उम्मेदवारी कायम रहेको छ भने सचिवमा ३ जना, उपसचिव खुलातर्फ ५ जना र उपसचिव महिलातर्फ ४ जनाको उम्मेदवारी कायम भएको छ ।

उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुव चौलागाई र भरत दुलालको उम्मेदवारी कायम रहेको छ । सचिव पदमा ५ जनाको उम्मेदवारी परेकोमा ३ जनाको कायम रहेको छ । सचिव पदमा मदन कुमार दाहाल, सीता विष्ट र राजन थापाको उम्मेदवारी कायम भएको छ । सचिव पदमा उम्मेदवारी दिएका सुमित्रा काफ्ले, नरहरि महतले नाम फिर्ता लिएका हुन् ।

त्यस्तै उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी कायम रहेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी कायम रहेको छ ।

हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत आइतबार दिउँसो १ बजेबाट मतदानको कार्यक्रम सञ्चालन हुनेछ । अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रमबाट ५ जना पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा ७७७ प्रतिनिधि सहभागी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस