गलकोटका किसानलाई रोपाइँको चटारो

रासस

शुक्रबार, १८ जेठ २०८१, १० : ५१
गलकोटका किसानलाई रोपाइँको चटारो

गलकोट । देशका विभिन्न भागमा खडेरीबाट किसान चिन्तित भए पनि गलकोटका  किसानलाई रोपाइँको चटारो छ ।  सिँचाइ सुविधाका कारण मध्यजेठमा  यहाँका खेलमा रोपाइँ भइरहेको छ ।

जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठअन्तिमदेखि  रोपाइँ हुने गरेको छ । मकै लगाएका  किसानले असार अन्तिम सातादेखि र साउनभरि रोपाइँ गर्छन् ।

जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोहीसमयसम्म  रोपाइँ हुने गरेको छ । बागलुङको छ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छभने १० हेक्टरमा मात्र चैते धान हुने गरेको उक्त केन्द्रले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस