कला, संस्कृति तथा साहित्यको प्रवद्र्धन गरियोस्

विहीबार, १३ पुस २०७४, ११ : ०३
कला, संस्कृति तथा साहित्यको प्रवद्र्धन गरियोस्

खोटाङ । खोटाङमा जन्मिएर राजधानी काठमाडौँमा बस्दै आएका कलाकारले नवनिर्वाचित जनप्रतिनिधिलाई कला, संस्कृति, संगीत तथा साहित्यको प्रवद्र्धन एवं संरक्षण गर्न ध्यानाकर्षण गराएका छन् ।

खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई र रामकुमार राई पासाङलाई कान्तिपुर फिल्म एकेडेमी, मैतीदेवी काठमाडौैँमा बुधबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रममा कलाकारले जिल्लाको कला, संस्कृति, संगीत र साहित्यको प्रवद्र्धनमा सहयोग गर्न ध्यानाकर्षण गराएको आयोजकले जानकारी दिएका छन् ।

राजधानीमा बसेर कलाकारितामा संलग्न कलाकारले कलाकारिताको प्रवद्र्धनमा कसैको चासो पुग्न नसकेको भन्दै खोटाङमा हरेक वर्ष राष्ट्रियस्तरको खोटाङ हलेसी महोत्सव आयोजना गर्न, नाटक, लघुनाटक मञ्चन, साहित्यिक भेला गर्न सांस्कृतिक भवन बनाउन एवं संग्रहालय, स्रष्टाको प्रतिमा र मौलिक होमस्टेसहितको नमूना गाउँ निर्माणका लागि जनप्रतिनिधिको हातमा लिखित मागपत्र थमाएका छन् ।

भीमबहादुर थापा, लक्ष्मी गिरी, जसराज किराती, नवल खड्का, महेश खड्कालगायत १० स्रष्टा तथा कलाकारको संयुक्त हस्ताक्षर भएको मागपत्र कार्यक्रमकै बीचमा नवनिर्वाचित जनप्रतिनिधिलाई हस्तान्तरण गरिएको कार्यक्रमको संयोजन गरेका कान्तिपुर फिल्म एकेडेमीका प्रबन्धक प्रकाश पुरीले जानकारी दिए ।

जनप्रतिनिधिलाई कलाकार नवल खड्का, महेश खड्का, खगेन्द्र राई र पुरीले मागपत्र बुझाएको जनाइएको छ । कार्यक्रममा नयाँ तथा पुराना गरी दुई दर्जनभन्दा बढी कलाकारको जमघट भएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस