लन्डन । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले विदेशमा बस्ने नेपाली र नेपालबिचको सम्बन्ध अझ बढी निकट र थप मजबुत बनाउनुपर्नेमा जोड दिएकी छन् ।
नेपाली दूतावास लन्डनद्वारा मङ्गलवार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डङ्गोलले विदेशमा रहेका नेपालीहरू सामाजिक, आर्थिक तथा व्यावसायिक जस्ता विभिन्न क्षेत्रबाट नेपालसँग जोडिनुपर्ने र त्यसका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रबाट पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
संसारको जुनसुकै कुनामा गएपनि हामी नेपाली हौँ भनेर चिनाउन पाउँदा गौरव हुने र विदेशमा नेपालीलाई भेट्दा आफ्नै घरमा भएजस्तो महसुस भएको उनले बताइन् । बेलायतको म्यानचेस्टरमा दुई दिन रहँदा नेपाली भेट्न नपाउँदा आफूहरूलाई न्यास्रो लागेको तर दूतावासमा नेपालीहरू भेटेपछि नेपालमै रहेको भान भएको उनले बताइन् । ‘विदेशमा रहेका नेपालीहरूलाई अभिभावकत्व प्रदान गर्न नेपाली दूतावासको महत्त्वपूर्ण भूमिका छ। यसैगरी परिवारका सदस्य जस्तै विभिन्न सङ्घसंस्थामा आबद्ध भएर एकजुट हुनु प्रशंसनीय छ’- डङ्गोलले भनिन् ।
ब्रिटिस काउन्सिलको निम्तोमा बेलायतको म्यानचेष्टरमा आयोजना गरिएको ‘वुमन अफ द वर्ल्ड (वाव) फेस्टिभल’ मा सहभागी हुन बेलायत आएकी डङ्गोलले नेपाललाई विविध तरिकाबाट प्रस्तुत गर्ने प्रयास गरेको बताइन् ।
साउथ एसियनहरूका लागि बनाइएको छुट्टै समूहमा नेपालीको कल्चर, सीप तथा परम्परालाई आफूले प्रस्तुत गरेको उनले बताइन् । यसका साथै संसारभरिका महिलाहरूको एक अर्काको कथा सुनाएर प्रेरणाको स्रोत बन्न सक्छ भने त्यस्ता कथालाई स्थान दिने एक महत्त्वपूर्ण कार्यक्रममा पनि काठमाडौँ महानगरपालिकाको तर्फबाट प्रतिनिधित्व गरेको उनको भनाइ थियो ।
वुमन अफ द वर्ल्ड’ मा सामाजिक, राजनीतिक, कला, विज्ञानलगायतका विभिन्न क्षेत्रका महिलाहरू एकै ठाउँमा बसेर अनुभव र प्रेरणाका कथा सुन्ने सुनाउने, सिक्ने र सिकाउने महत्त्वपूर्ण ठाउँ रहेको उनले बताइन् ।
त्यस्तै विश्वभरिबाट हरेक साल पोलिटिकल लिडरलाई पनि ‘मोमेन्ट अफ युनिटी’ मा सहभागी गराइन्छ, जसमा यसपटक अस्ट्रेलियाको २७ औँ तथा पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र नेपालको तर्फबाट काठमाडौँ महानगरपालिकाबाट आफूले नेपालको कथा, राजनीति कथा राजनीतिमा महिलाको अवस्था विषयमा सुनाउने मौका पाएको र त्यो सबैका लागि गौरवको कुरा भएको उनले बताइन् ।
आगामी नोभेम्बरमा नेपाली इतिहासमै पहिलो पटक स्थानीय सरकारको आयोजनामा वाव काठमाडौँ आयोजना गर्न लागेको उनले जनाइन् । नेपालीहरू धेरै कुराले धनी भएपनि त्यसलाई देखाउन हिचकिचाउंदा पछि परेको बताउँदै उक्त ग्लोबल प्लेटफार्मले ठुलो सहयोग पुग्ने उनले बताइन् । उक्त कार्यक्रममा सहभागी हुन उनले सबैलाई निमन्त्रणासमेत गरेकी छन् ।
संसारको विभिन्न कुनामा नेपालीहरू पुगे पनि बेलायतमा रहेका नेपालीबिच नेपालीपन बढी रहेको पाएको उनले बताइन् ।आफूहरूले महानगरपालिकामा विभिन्न क्षेत्रमा काम गर्दै आएको र उत्पादनलाई बढी जोड दिएको बताइन् । मौलिक सीपमूलक रोजगारीलाई प्राथमिकता दिने उद्देश्यले सुकुल, माटाका भाँडा जस्ता क्षेत्रलाई बजारीकरणमा जोड दिनुपर्ने र त्यसका लागि ‘एक वडा एक नमुना’ कार्यक्रम सुरु गरेको डङ्गोलले बताइन् ।
नेपाली डायस्पोरालाई नेपालसँग जोड्न बेलायत सांस्कृतिक रूपमा सफल भइसकेको बताउँदै उनले आर्थिक सम्बन्धलाई पनि जोड दिँदै नेपाली उत्पादन विश्व बजारमा पुर्याउन काठमाडौँ महानगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । नयाँ पुस्तालाई नेपाली भाषामा जोड दिनुपर्ने उनको धारणा थियो । बेलायतमा नेपाली भाषामा पनि पढ्ने वातावरण मिलाउनुपर्ने उनले बताइन् ।
शिक्षा क्षेत्रलाई जोड दिन महानगरपालिकाले ‘बुक फ्री फ्राईडे, सीपमूलक तालिम, रोजगारी मेला, संविधानले दिएको न्यायिक अधिकार जस्ता विभिन्न क्षेत्रमा आफूहरूले काम गर्दै आएको उनले बताइन् । सरकार सरकार (जी टु जी) बिच मात्र नभई जनता जनता (पी टु पी) बिच कनेक्सन गर्न महानगरपालिका तत्पर रहेको उनले बताइन् ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उपमेयर डङ्गोल तथा उनको भ्रमण टोलीलाई स्वागत गरे । गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै राजदूत आचार्यले गणतन्त्रले दिएका हक अधिकारबारे पनि उल्लेख गरे । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरूबाट शुभकामना प्राप्त भएको उनले बताए ।
कार्यक्रममा उपमेयर डङ्गोलले राजदूत आचार्यलाई हस्तकलाद्वारा निर्मित फूलको गमलालगायत सामग्री प्रदान गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १२ : ३१
लेखकबाट थप