सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १७ जेठ २०८१, ०७ : ३१
सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो । 

प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाह भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । 

जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले अहिलेसम्म दुई जनाको शव उद्धार गरेर सडकमा ल्याइएको र बाँकी दुई जनाको ल्याउने तयारी भइरहेको छ । बाँकीको खोजी कार्य पनि भइरहेको उनले बताए ।