आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, ०६ : ४८
आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौ । आज १७ औँ गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। गणतन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको खुसियालीमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ। 

राज्यको सम्पूर्ण शक्ति जनतामा निहीत हुनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको हो। 

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ गते आफैँले विघटन गरेको संसद् पुनःस्थापना गरेका थिए। त्यतिबेला आन्दोलनरत दलहरुले दिएको मार्गचित्रबमोजिम उनले संसद पुनःस्थापना गरेका थिए। 

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।

तत्कालिन विद्रोही शक्ति माओवादीको पनि समर्थनमा सञ्चालित २१ दिन लामो जनआन्दोलन, जनयुद्ध र जनआन्दोलनमा भएको हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएपछि संविधान सभा निर्वाचन गर्ने मार्गचित्र अनुसार संसद्‍ पुनस्र्थापना गर्न ज्ञानेन्द्र बाध्य भएका थिए। 

गणतन्त्र स्थापनाका लागि दोस्रो संयुक्त जनआन्दोलन जगका रूपमा स्थापित भयो। संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि तत्कालिन राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चलाएका थिए।

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो। पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लिएको थियो।

प्रतिक्रिया दिनुहोस