न्यायपालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक हुन् : प्रधानन्यायाधीश श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, १२ जेठ २०८१, ११ : १३
न्यायपालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक हुन् : प्रधानन्यायाधीश श्रेष्ठ

धुलिखेल । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक भएको बताएका छन् ।  सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले संयुक्तरुपमा आज आयोजना गरेको ‘अदालती रिपोर्टिङ र सञ्चार माध्यम’ विषयक कार्यशालाको उद्घाटन समारोहमा प्रधान न्यायाधीश श्रेष्ठले न्यायालयको संवेदनशीलतालाई बुझेर गरिने यथार्थपरक, सत्यतथ्य  र  व्यावसायिक पत्रकारिताले न्यायपालिकाको विश्वसनीयताका साथै जनआस्था वृद्धि हुने विश्वास व्यक्त गरे । 

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको उल्लेख गर्दै अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रूपमा स्थापित गराउन आवश्यक रहेको बताए । उनले अदालती रिपोर्टिङमा राजनीतिक विषयलाई छुट्ट्याउन चुनौती रहेको भन्दै अदालतको संवेदनशीलतालाई बुझेर यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । 

मञ्चका अध्यक्ष कालिका खड्काले न्यायालयका सूचना सम्प्रेषणलाई सत्य तथ्य र यथार्थपरक बनाउन व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला राखिएको बताए । कार्यशाला दुई दिनसम्म चल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस