आईपीएल : हैदराबाद उपाधि नजिक, फाइनलमा कोलकत्ताको सामना गर्ने

सफल खबर संवाददाता

शनिबार, १२ जेठ २०८१, ०७ : ००
आईपीएल : हैदराबाद उपाधि नजिक, फाइनलमा कोलकत्ताको सामना गर्ने

काठमाडौ । इंडियन प्रिमियर लिग (आईपीएल)को १७औं संस्करणको उपाधिका लागि सनराईजर्स हैदराबाद र कोलकत्ता नाईट राइडर्स भिड्ने भएका छन् । शुक्रवार राति भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेसँगै फाइनलमा कोलकत्तासँग भिड्ने पक्का गरेको हो । 

हैदराबाद ६ वर्षपछि लिगको फाइनलमा पुगेको हो । पछिल्लो पटक सन् २०१८ मा टोली उपविजेता भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । हैदराबादका लागि हेनरिक क्लासनले ३४ बलमा सर्वाधिक ५० रन बनाए । राहुल त्रिपाठीले १५ बलमा ३७ रन र ट्राभिस हेडले २८ बलमा ३४ रन बनाएका थिए । शाहबाज अहमदले १८ तथा अभिषेक शर्माले १२ रन जोडे ।

राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले ३-३ विकेट लिए भने सन्दिप शर्माले २ विकेट लिए ।

जवाफमा राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा सर्वाधिक ५६ रन बनाए । ओपनर यशस्वी जैसवालले २१ बलमा ४२ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् ।

हैदराबादका लागि शाहबाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए । प्याट कमिन्स र नटराजनले १-१ विकेट लिए ।

कोलकत्ता पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल आउँदो आइतवार हुँदैछ ।