मनाङ । विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएको छ । जिल्लाको मुटुमा मानियो चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठे पुल निर्माण गरिएको हो ।
सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठे पुल निर्माण गरी सञ्चालन भइरहेका छन् । दीर्घकालीन हुनेगरी पक्की पुल नहुँदा वर्षा लाग्ने समयमा अझ जोखिम बढ्ने स्थानीय बताउँछन् । चामे-१ तिमाङस्थित तिमाङखोलामा, चामे-२ स्थित स्यार्कुखोला, चामे-४ स्थित दुई वटा घट्टेखोलामा काठे पुलले मात्रै आवतजावत गर्न सकिन्छ ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बेसीँसहर चामे सडक आयोजनासँग पटकपटक समन्वय गर्दा पनि दीर्घकालीन रूपमा पक्की पुल निर्माण हुन नसकिएको बताए । उनले भने, ‘वर्षा लाग्न थालेको छ, यससँगै काठका पुल बाढीले बगाउँछ, आवतजावत नै रोकिने समस्या फेरि दोहोरिनेछ । एउटा काठे पुल निर्माणका लागि बर्सेनि रु पाँच/सात लाख लाग्छ, अन्य ठाउँमा उपयोग हुने बजेट काठे पुललाई छुट्याउन बाध्य छौँ ।’
आयमूलक क्षेत्रमा लगानी गर्नुको सट्टा काठे पुल निर्माणमा खर्चनुपर्ने बाध्यता रहेको अध्यक्ष घलेले बताए । सडक निर्माण आयोजना, सङ्घीय तथा प्रदेश सरकारसँग छलफल गर्दा पनि यहाँ पुल निर्माण गर्न नसक्दा आम नागरिकको गुनासो पूरा गर्न नसकिएको उनको भनाइ छ ।
मनाङ पर्यटकीय क्षेत्र भएकाले मेरुदण्डको रूपमा रहेको यस सडकमा काठेपुलमात्र हुँदा सवारीसाधन तथा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको छ । जिल्लाको मुख्य सडकमा मात्र नौ वटा काठे पुलको यात्रा गरेर माथिल्लो मनाङका तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । बाढी आउँदा झनै सास्ती हुने गरेको उनीहरूको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले सडक आयोजनासँग पुल निर्माणको विषयमा छलफल भइरहेको बताए । पर्यटकीय क्षेत्रमा नै पुलको अभाव हुँदा हुने जोखिमलाई मध्यनजर गरी पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिएको उनले बताए ।
प्रजिअ लामिछानेले भने, ‘सधैँ काठे पुल सञ्चालन गर्न सम्भव छैन, हामीले सडक आयोजना कार्यालयसँग बोलाएर छलफल गर्यौँ, तर काम भएको देखिँदैन । काठे पुल पनि जीर्ण हुँदै गएका छन्, केही ठाउँमा धान्न नसक्ने भएपछि खोलाबाट नै तर्नुपर्ने अवस्था आएको छ ।’ पक्की पुल नहुँदा काठे पुलको यात्रा जोखिम बन्दै गएकाले सरकारको ध्यान पुग्नुपर्नेमा उनले जोड दिए ।
जिल्लाका काठे पुल हटाउने गरी पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि सम्झौता भएको डुम्रे–बेसीँसहर–चामे आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । ‘डिपिआर गर्नका लागि मात्रै सम्झौता भएको छ । बजेट अभावमा अझै उस्तै छ’, उनले भने ।
अधिकारीका अनुसार यस सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि डिपिआर भएको र बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी काम हुनेछ । बोलपत्र आह्वान हुनासाथ निर्माण थालिने योजना रहेको उनले बताए ।
जिल्लाका विभिन्न क्षेत्रबाट आउने यात्रु, पर्यटक तथा सवारीसाधन पक्की पुल नहुँदा काठे पुलको भरमा सञ्चालित छन् । वर्षामा काठे पुलबाट आवतजावत गर्दा थप समस्या र जोखिम हुँदै आएको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १० जेठ २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अरुण खोलाको जलुकेमा पक्की पुल निर्माण
धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
पक्की पुल बनेपछि पाँच हजार जनतालाई राहत
लोमान्थाङको नाम्डोक खोलामा साढे ६ करोडको लागतमा पक्की पुल निर्माण
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
६ वर्षपछि सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो