पोखरा । नौ वर्षअघि २०७३ सालको असारमा मनाङको थोंचे स्थित दुधखोलामाथि पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले निर्माण कम्पनीलाई ठेक्कामा दियो । २०७४ सालमा सक्नेगरी द क्याराभान कम्पनीलाई ठेक्का दिइएकोमा ९ वर्ष बितिसक्न लाग्दा समेत काम अघि बढेको छैन ।
पुलको लागत ३ करोड ५५ लाख छ । नदीको दुई किनारामा पिलर मात्रै उठाएर ठेकेदार सम्पर्क विहीन छन् । ठेक्काको आधा भन्दा बढी रकम ठेकेदारले लगिसकेको पुर्वाधार विकास कार्यालयले जनाएको छ । पुल धारापानीदेखि तिल्चे हुँदै तिब्बत जोड्ने सडकमा पर्छ ।
यो पुल नबन्दा मनाश्लु पदमार्गमा जाने पर्यटकलाई हिँड्न समस्या भएको छ भने चर्को ढुवानी तिरेर सामान ओसार्न बाध्य छन्, स्थानीय । ठेकेदार कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेपछि उनीहरू रुष्ट छन् । नासो गाउँपालिका अध्यक्ष धनबहादुर गुरुले पटक पटक ठेकेदारसँग काम गर्ने सहमति गरे पनि वास्ता नगरेको बताए ।
‘म अध्यक्ष भएपछि दिनको एक पटक ठेकेदारलाई फोन गर्छु, उठाउँदैनन् । मन्त्रालय र सडक विभागमा पनि जानकारी गराएका छौँ,’ उनले भने, ‘कसैले वास्ता गरेनन् । दुख हामीले खेप्नुपर्यो ।’ अघिल्लो वर्ष अध्यक्ष गुरुङकै सक्रियतामा निर्माण कम्पनीका प्रमुख चन्द्र थकालीसँग मन्त्रालयका प्रतिनिधि समेतको उपस्थितिमा काम गर्ने लिखित सहमति गरिएको थियो । ‘अघिल्लो असारसम्म काम गर्छु भनेर प्रतिबद्धता जनाएका थिए ।
सहमति गरेपछि ठेकेदार सम्पर्क विहीन भए,’ गुरुङ भन्छन्, ‘कि काममा लगाउनुपर्यो । नत्र ठेक्का तोड्ने प्रक्रियामा लैजानुपर्यो ।’ यो वर्षभित्र काम नभए कानुनी प्रक्रिया अनुसार अघि बढ्नुपर्ने उनको भनाई छ ।
कारबाही गर्नुपर्ने कम्पनीलाई पटक पटक म्याद थप्दै नयाँ ठेक्का समेत दिइएको छ । नदीमा पुल नबनेपछि स्थानीयले काठेपुल बनाएर मोटर तार्छन् । सडक सञ्जाल ढिलो पुगेको मनाङका अधिकांश खोलामा अहिले पनि काठकै पुल तरेर गाडी र मान्छे आउजाउ गर्छन् । ‘एउटै पुल बनाउन बर्सेनि ५ लाख भन्दा बढी खर्च हुन्छ । जोखिम उस्तै छ,’ उनले भने, ‘बर्खा लागेपछि निकाल्ने हो । हिउँद लागेपछि राख्ने हो । यसरी कति वर्ष चल्छ ?’ डुम्रे, वेशीशहर, चामे सडक खण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिएको छ । केही खोलामा पुल निर्माणाधीन छन् ।
दुधखोला तरेर तिल्चे, गोवा, भीमथाङ हुँदै गोरखा र उत्तरी छिमेकी चीनसम्म यात्रा गर्छन् । बर्खा लागेपछि आवतजावत नै ठप्प हुन्छ । २०७८ सालको बाढीले ठाउँ ठाउँका झोलुङ्गे पुल पनि बगाएको छ । जसका कारण सदरमुकामसँगको सम्बन्ध विच्छेद नै हुन्छ । गण्डकीको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १० : २९
लेखकबाट थप