ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्ति लोकपथ बन्द

रासस

शुक्रबार, २१ बैशाख २०८१, १० : ४७
ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्ति लोकपथ बन्द

ललितपुर। कान्ति लोकपथ बन्द भएको छ। मर्मतका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्ति लोकपथ बन्द गरिएको हो।कान्ति लोकपथ ​विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले अर्को सूचना नभएसम्म यो सडक बन्द रहने जानकारी दिए।

‘काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्णरूपमा क्षति भएको छ’, उनले भने, ‘भित्ता कटिङका क्रममा खसेको ढुंगाले ग्याविन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन। अर्को सूचना नभएसम्म यो सडक बन्द रहने छ।’

मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस