सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, १३ : ०४
सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड

काठमाडौँ । काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी (मंगलबार) बाट सुरु भएको रथयात्राको रथ तानेर मंगलबार नै असन पुर्‍याइएको थियो ।

तीनधारा पाठशालाबाट सुरु भएको रथ जात्रालाई मंगलबार जमलबाट तानेर असन पुर्‍याइएको थियो । आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमान ढोका पुर्‍याइनेछ ।

चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।

पानी, सहकाल र दीर्घ जीवनको कामना गर्दै यो रथयात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रूपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस