अज्ञात समूहद्धारा काटिएको बुद्धचित्तको रुख वार्षिक ३ करोड लिने गरी बेचिएको थियो

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, ११ : १९
अज्ञात समूहद्धारा काटिएको बुद्धचित्तको रुख वार्षिक ३ करोड लिने गरी बेचिएको थियो

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका-५ सिपालीस्थित नागबेलीमा अज्ञात समूहले बुद्धचित्त मालाको रुख काटेका छन् । रुख काटेर घरको ढोकामा दुई वटा सकेट बम राखेर आरोपीहरू फरार भएको प्रहरीले जनाएको छ ।

बम निष्क्रिय बनाउन नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । स्थानीय ठाकुरानी तामाङ र शेरबहादुर तामाङको स्वामित्वमा रहेको सो बुद्धचित्तको रुख काभ्रे जिल्लामा सबैभन्दा महँगोमा बिक्री हुँदै आएको थियो ।

उक्त बुद्धचित्तको रुख केही महिनाअघि ३ करोड रुपैयाँ ठेक्कामा लगाएको रुखका धनी शेरबहादुर तामाङले बताएका छन् । उनले उक्त रुख ३ महिनाअघि नै समिर त्रिपाठीलाई ठेक्कामा लगाएको बताए । गत वर्ष उक्त रुख ९० लाख रुपैयाँ ठेक्कामा दिइएको र यसपटक वार्षिक ३ करोड रुपैयाँ पाउने गरी ठेक्का लगाएको उनको भनाइ छ ।

दुई वटा समूहको बिचमा पैसाको विवाद हुँदा अर्को समूहले मान्छे प्रयोग गरेको र तेस्रो पक्षले पैसाको बार्गेनिङ गरेर रुख काटेको हुनसक्ने आकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी वसुन्धरा खड्का नेतृत्वको टिमले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

गएराति २ बजेतिर ७ जनाको समूह गएर इलेक्ट्रिक आरोले रुख काटेर बम झुन्ड्याएर भागेको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस