कंचनपुर । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ।
निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो।
शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए।
भँगेराजस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उनले बताए। धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गरिरहेको संरक्षणकर्मी चौधरीले बताए।
‘फरक प्रजातिको चरा देखेपछि तस्बिर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ’, उनले भने, ‘यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ।’
नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो। त्यसपछि यस चराको तथ्याङ्क राखिएको नपाइएको उनले बताए।
अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उनले बताए। चराविज्ञ डगौराका अनुसार नेपालमा बगेडी चराका १५ प्रजाति नेपालमा पाइने गरेका छन्। तीमध्ये तीन प्रजाति रैथाने हुन्।
बाँकी १२ आकर्षक साना प्रजातिका चरा रुस, मङ्गोलिया, चीनलगायतका क्षेत्रबाट बसाइँ सरेर आउने गर्दछन्। बसाइँ सरेर आउनेमध्ये बगाले बगेडी चरा पनि पर्ने गर्दछ।
उत्तरी ध्रुवमा अत्यधिक रूपमा बढेको चिसो छल्नका प्रत्येक वर्ष यहाँ पुग्ने गर्दछन्। मासुका लागि अत्यधिक रूपमा सिकार हुन थालेपछि यो चरा विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ।
‘अत्यन्तै सुन्दर शारीरिक बनावट र रङ भएका बगेड चराको सङ्ख्या पछिल्लो दशकमा ९० प्रतिशतले घटेको पाइएको छ’, चराविज्ञ डगौराले भने, ‘घट्नुको मुख्य कारणका रूपमा चोरी सिकार नै हो।’ चीनमा सबैभन्दा बढी यस चराको सिकार हुने गरेको उनको भनाइ छ।
नेपालकै मधेस प्रदेशको धनुषा र महोत्तरी क्षेत्रमा यस चराको सिकार हुने गरेको पाइएको चौधरीले बताए। ‘उखुबारीमा भएका बेला यस चराको सिकार भएको पाएका छौँ’, उनले भने, ‘होटलमा समेत यस चराको मासु बिक्री भएको पाइएको छ।’
‘छातीमा पहेँलो रङ हुने बगाले बगेडी (एल्लो ब्रेस्टेड बन्टिङ) चरा नेपालमा पनि केही वर्ष पहिला हजारौँका सङ्ख्यामा देखिने गरेका थिए, अहिले २० देखि ३० को सङ्ख्यामा मात्रै देखिने गरेका छन्’, डगौराले भने, ‘पछिल्लो वर्षमा यस चरालाई देख्न पनि दुलर्भ भएको छ, सन् १९८० पछि पहिलोपटक देखिएका छन्।’ यो चरा अतिसङ्कटापन्न अवस्थामा रहेको उनले बताए।
चोरी सिकारसँगै सिमसार क्षेत्र विनाश हुन थालेपछि बसाइँ सारेर आउने बगाले बगेडीसँगै अन्य चरा सङ्कटमा परेका छन्। बसाइँ सार्ने क्रममा हिमाल छिचोल्दै कैयौँ फिटको उचाइ भएर आउने बगाले बगेडी चरा मर्ने गर्दछन् भने सिकारी चराको सिकार पनि हुने गर्दछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली–कञ्चनपुर आइपुगे साइबेरियाका चरा
गुल्मीमा भेटिए नयाँ प्रजातिका आठ चरा
‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरा पहिलोपटक भक्तपुरमा देखियो
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
नेपालमा पहिलो पटक फुस्रो सारौँ प्रजातिको चरा फेला
जाडो छल्न नेपाल आएका चरा स्वदेश फर्किए