भरतपुर महानगरको दीर्घकालीन योजना बनाउन प्रचण्डको सुझाव

मंगलबार, ११ पुस २०७४, २० : २४
भरतपुर महानगरको दीर्घकालीन योजना बनाउन प्रचण्डको सुझाव

 

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महानगरको योजना बनाउँदा दीर्घकालीन रुपमा बनाउन सुझाव दिनु भएको छ ।

भरतपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित महानगरको अल्पकालीन, मध्यकालीन र दिर्घकालीन आर्थिक, सामाजिक, पर्यटकीय र भौतिक विकासको अवसर र चुनौती विषयक अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले भरतपुर महानगर धेरै सम्भावना बोकेको नगर भएकाले योजना बनाउँदा सुक्ष्म विषयलाई समेत केलाउँदै बनाउन आवश्यक रहेको बताउनु भयो ।  

भरतपुर महानगरपालिका सम्भावनै सम्भावनाले भरिएको बताउँदै उहाँले यसको दिगो र आत्मनिर्भर विकासका लागि महानगरीय बृहत गुरुयोजना निर्माण गर्नु आवश्यक रहेको उहाँले बताउनु भयो । दाहालले भन्नुभयो, ‘योजना बनाउनुहोस्, सरकारलाई झक्झक्याउने काम म गर्छु । भरतपुर महानगरपालिकालाई देशकै नमुना बनाउने आफ्नो लक्ष्य रहेको भन्दै उहाँले त्यसका लागि भौतिक  पूर्वाधारको विकास आजको आवश्यकता भएको बताउनु भयो ।

महानगरले योजना बनाउँदा रिङरोड र लिङ्करोड निर्माण र सडक बिस्तारसँगै कालोपत्रेलाई समेत ध्यान दिन आवश्यक रहेको बताउनु भयो । महानगरको अधिकांश क्षेत्र आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बताउँदै अध्यक्ष प्रचण्डले नारायणी नदीमा ती स्थानमा पुल निर्माण गर्ने र यसले जिल्लाको सम्पर्कसंगै बिकासमा कायपलट गर्ने बताउनु भयो  ।

चितवन देशको केन्द्रबिन्दुमा रहेको भन्दै उहाँले यसको केन्द्र भरतपुर महानगरपालिका विकास र समृद्धिका हिसाबले साँच्चिकै केन्द्र नै बन्ने बताउनु भयो । दाहालले सडक कालोपत्रे, आमजनताको माग रहेकाले यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले नारायणी र राप्ती नदीको तटबन्धनसहित जंगली जनावर र मानवबीचको द्वन्द्व रोक्न वालसहितको मेसजाली निर्माण गर्न महानगरलाई आग्रह गर्नुभयो ।

 

राष्ट्रियस्तरको रंगशाला, पर्यटनको तीब्र विकास, औद्योगिक क्षेत्रको स्थापना गरी रोजगारी कृषिको आधुनिकिकीरण गर्ने ठोस योजना तर्जुमा गरी अघि बढ्न सके महानगरले विकासमा फड्को मार्ने उहाँले बताउनु भयो । यसका लागि योजना बनाउँदा समयसापेक्ष र जिल्लालाई नै नेतृत्व गर्ने गरी बनाउन आवश्यक रहेको उहाँको भनाई थियो ।  

कार्यक्रममा बोल्दै योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पिताम्बर शर्माले महानगरपालिका आर्थिक समाजिक, पर्यटकीय पूर्वाधार विकासका दृष्टिले उपयुक्त रहेको बताउनु भयो । उहाँले त्यसका लागि ठोस योजनाहरु तर्जुमा गर्दै अगाडि बढ्न आग्रह गर्नु भयो । डा. शर्माले ईच्छाशक्ति भए असम्भव भन्ने कुनै चिज नरहेको भन्दै दिगो र सन्तुलित विकास समृद्धिको आधार रहेको बताउनु भयो ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्की, कृषि मन्त्रालयका सचिव डा. सुरोज पोख्रेल, शहरी विकास मन्त्रालयका सचिव शिवहरि शर्माले महानगरले प्रस्तुत गर्ने योजनाहरुमा मन्त्रालयका तर्फबाट अर्थपूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले बृहद गुरुयोजनासहित तीब्र विकासको गतिका साथ समृद्धिको यात्रामा अगाडि बढ्ने महत्वकांक्षी योजना लिएको हुँदा यसलाई सहयोग र सुझाव दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरको वर्तमान अवस्था, महानगरले हाल गरेका र भावी योजनाका बारेमा जनाकारी गराउनु भएको थियो । कार्यक्रममा पूर्वाधारविज्ञहरु शिक्षा, सहरी विकास, यातयात, वातावरण, सामाजिक सुरक्षा लगायतका क्षेत्रका विज्ञहरुले आफ्ना धारणा व्यक्त गरेका थिए । महानगर उपप्रमुख पार्वती शाहले योजना निर्माणमा सल्लाह, सुझाव दिने सबैलाई कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस