काठमाडौँ । प्रकाशकुमार कुसारीको अध्यक्षतामा आगामी पाँच वर्षका लागि नेपाल कुस्ती संघको नयाँ नेतृत्व चयन भएको छ। आइतवार लाजिम्पाटमा सम्पन्न संघका साधारणसभा तथा निर्वाचनबाट कुसारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो। उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्डसदस्य हुन्। संघको कुल २७ सदस्यीय कार्यसमिति रहनेछ भने बाँकी १२ पदमा पछि मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष कुसारीले जानकारी दिए।
संघका उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह र सूर्यांशकुमार चौधरी तथा महासचिवमा खगेन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन्। संघको विधानअनुसार वरिष्ठसहित कम्तीमा एक महिला गरी पाँच उपाध्यक्ष रहने व्यवस्था छ। संघको पहिलो कार्यसमिति बैठकले महिला उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष मनोनीत गर्ने भएको छ। उपमहासचिवमा चितवनका साजन अधिकारी सर्वसम्मत चयन भएका छन्।
कार्यसमितिले थप एकजना उपमहासचिव मनोनीत गर्न पाउने व्यवस्था छ। सचिवमा सरोज कटुवाल र सूर्यनारायण साह तथा कोषाध्यक्षमा विपुल पौडेल निर्वाचित भएका छन्। यो कार्यसमितिमा थप तीनजना सचिव नियुक्त हुनेछन्।
साधारणसभा र निर्वाचनले संघको सदस्यहरूमा ऐटन मल्ल, सुदीप केसी, अनित न्यौपाने, उपेन्द्र श्रेष्ठ, विक्रमसागर पोख्रेल र लक्ष्मी उराउलाई सर्वसम्मत निर्वाचित गरेको छ। नयाँ कार्यसमितिको बैठकले थप ६ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था रहेको छ। त्यसअघि उक्त साधारणसभाको राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पीताम्बर तिम्सिना र नेपाली राष्ट्रिय कुस्ती टोलीका वरिष्ठ प्रशिक्षक मुमताज अलीको उपस्थितिमा उद्घाटन भएको थियो।
निर्वाचित कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद्का कानून शाखा प्रमुख तथा निर्वाचन समितिका संयोजक नारायणराज अर्यालले पद तथा गोपनीयताको शपथ गराएका थिए। अर्यालको नेतृत्वमा रहेको निर्वाचन समितिको सदस्यमा राखेपका अधिकृतद्वय चन्द्रकुमार राई र ओमनाथ न्यौपाने, अधिवक्ताद्वय प्रदीप सापकोटा र सन्तोष आचार्य थिए।
अध्यक्ष पदमा निर्वाचित भएसँगै कुसारीले देशका हरेक कुनाबाट खेलाडी उत्पादनसँगै प्रशिक्षक र निर्णायकको अभिवृद्धि लगायतमा आगामी चार वर्ष यो नेतृत्वले काम गर्ने संकल्प व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, २० : ५४
लेखकबाट थप