काठमाडौं । नेपाली कांग्रेसले केन्द्रमा सत्ता समीकरण फेरिए पनि कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने निष्कर्ष निकालेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलले सो निष्कर्ष निकालेको हो ।
पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न देउवा निवास बुढानिलकण्ठमा दुई उपसभापति, दुई महामन्त्री, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेताहरु भेला भएका थिए ।
सो छलफलमा सहभागी महामन्त्री गगन कुमार थापाले सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशीको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको जानकारी दिए ।
‘न यसको विकल्प छ, न यसलाई विघटन गर्न सकिन्छ, न अविश्वासको प्रस्ताव ल्याउन मिल्छ भनेर मुख्यमन्त्री कार्कीले तर्क र दलिल प्रस्तुत गर्नुभयो । हामी सबैको निष्कर्ष पनि त्यही नै रह्यो,’ थापाले भने ।
नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको हो । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् । त्यसैले कोशीमा एमाले–माओवादीसहितको गठबन्धन सहज अंक गणितमा देखिन्छन् । कोशी प्रदेशसभामा कांग्रेससँग २९ र राप्रपाका ६ गरी जम्मा ३५ सांसद छन् ।
सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले १ कात्तिकमा विश्वासको मत लिँदा राप्रपाका ६ सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले विश्वासको मत दिएका थिए । उनीहरुको विश्वासको मत अहिले पनि कायमै छ ।
गणितीय रुपमा कार्की संकटमा परेको जस्तो देखिए पनि कार्कीको विकल्पमा अर्को सरकार बन्ने संवैधानिक र कानुनी आधार नदेखिएको कांग्रेसको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी
नवनियुक्त आन्तरिक मामिला मन्त्रीले लिए शपथ
कोशीमा बन्यो दुई दलीय संयन्त्र, १४ वटै जिल्लामा विस्तार गर्ने
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो
कोशी प्रदेश सभाको बैठक बस्दै