काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूले अध्यक्ष रहेकी श्रीमती रञ्जितालाई आफूले सम्झाउन नसकेको बताएका छन्।
अध्यक्ष रञ्जिता पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकार र सोही अनुरूप प्रदेश सरकारहरूमा पनि समर्थन गर्नुपर्ने अडानमा रहँदा रेशमले कसैको पक्षमा लाग्न नहुने भन्दै सामाजिक सञ्जाल फेसबुकमा उनलाई पत्र लेखेका हुन्।
रेशमले रञ्जितालाई सम्झाउन नसक्नु आफ्नो विवशता भएको समेत उल्लेख गरेका छन्। ‘मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दिनँ,’ रेशमले लेखेका छन्, ‘मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउनेवाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ।’
उनले नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद घरझगडा मात्र नभएको प्रतिक्रिया दिएका छन्। उनले बूढाबूढीको झगडा मात्र नभई पार्टीको अस्तित्व जोगाउने प्रश्न भएको बताएका छन्। रेशमले ‘भोट हाल’ भन्नेहरूले आफूहरूलाई डुबाउने दाबी गरेका छन्। त्यसैले कसैलाई मत दिन नहुने पक्षमा रहेको उनको भनाइ छ।
‘कुरा बुझौँ, कुनै पनि गठबन्धनका पछाडि नलागौँ। नागरिक उन्मुक्ति पार्टी कांग्रेस-कम्युनिष्ट होइन, भौगोलिक साँस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो’, उनले भनेका छन्, ‘त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौँ। आफ्नो नीति सिद्धान्त अनुरूप चलौँ।’
उनले प्रधानमन्त्री दाहालका कृपाले आफू रिहा नभएको तर्क गरेका छन्। दुई लाख अठहत्तर हजार जनताको भोटले रिहा भएको उनको भनाइ छ। एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो भन्ने उनको भनाइ छ।
निर्वाचन आयोगले आफूलाई मान्यता नदिएकोप्रति पनि उनले आक्रोश पोखेका छन्। ‘अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ’, उनले लेखेका छन्, ‘सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथि हुन्छ। सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो, तर जनता जनार्दन हुन्। यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं : रेशम चौधरी
पार्टी अध्यक्षताको मान्यता पाउन रेशम चौधरी सर्वोच्चमा
आफ्नै नेतृत्वमा सरकारको पहल गर्ने रेशम चौधरी पक्षको निर्णय
पार्टीको अध्यक्ष म हुँ, रञ्जिताजी निवर्तमान अध्यक्ष हुनुहुन्छः रेशम चौधरी
प्रधानमन्त्रीलाई भेटेर रेशमले भने– गठबन्धनलाई समर्थन गर्ने–नगर्नेबारे केन्द्रीय समितिबाट निर्णय लिन्छौँ