भारतीय व्यवसायी अपहरणका मुख्य योजनाकार राजन पक्राउ

सफल खबर संवाददाता

शनिबार, २६ फागुन २०८०, १४ : ५५
भारतीय व्यवसायी अपहरणका मुख्य योजनाकार राजन पक्राउ

जनकपुरधाम । भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके  पक्राउ परेको प्रहरीले दाबी गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार विराटनगरको कञ्चनवारीस्थित खड्का होटलबाट अन्दाजी ४० वर्षीय राजेश भनिने राजन माझीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन दाहालका अनुसार उनी अपहरण र फिरौती असुलीबाहेक अन्य  अपराधिक घटनामा पनि संलग्न रहेको पाइएको छ । चारवटा डाँकाचोरीको मुद्दा उनीमाथि अदालतमा चलिरहेको छ । डाँका मुद्दामा नै तिव्र खोजीमा परेका उनलाई पक्राउ गरेर गत बिहीबार जिल्ला अदालतम मोरङमा पेश गरिएको डीएसपी दहालले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत पुस र माघ महिनामा भारत बिहारको सितामढी जिल्ला सोनवर्षा बजारका दुईजना व्यवसायीलाई अपहरण गरेको घटनाका राजन मुख्य नाइके हुन् । फिरौती माग्नेको मोबाइलमा आवाज उनैको जस्तो देखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताए ।

गत माघ १६ गते सोनवर्षा बजारका इँट्टा भट्टा व्यवसायी ३४ वर्षीय अभिषेक कुमार अपहरणमा परेका थिए । उनलाई अपहरणकारी गिरोहले नेपाल ल्याएर तीन करोड रुपैयाँबाट बार्गेनिङ गरेको थियो । तर अन्तमा ५० लाख भारतीय रुपैयाँ फिरौती लिएर माघ २६ गते बिहान सर्लाहीको संग्रामपुर स्थित नेपाल भारत सीमा नजिक मुक्त गरेका थिए ।

सोनर्षाकै औषधि व्यवसायी कामेश्वर रायको पनि गत २ डिसेम्बरमा अपहरण गरी सोही गिरोहले नेपाल ल्याएको थियो । पाँच दिन पछि ३० लाख रुपैयाँ भारु अर्थात ४८ लाख रुपैयाँ नेपाली फिरौती लिएर उनलाई ७ डिसेम्बरमा अपहरणकारीले महोत्तरीको सम्सीबाट मुक्त गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस