नेदरल्यान्ड्सका खेलाडीले ओढे नेपाली झण्डा

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, १६ : ४६
नेदरल्यान्ड्सका खेलाडीले ओढे नेपाली झण्डा

काठमाडौँ। घरेलु टोली नेपाललाई हराउँदै त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाकाे उपाधि जितेपछि नेदरल्यान्ड्सका खेलाडीले नेपाली राष्ट्रिय झण्डा ओढेका छन् ।मंगलवार कीर्तिपुरस्थित त्रिवि मैदानमा फाइनल खेल सकिएपछि उनीहरूले नेपाली खेलाडीको सम्मानमा नेपालको राष्ट्रिय झण्डा काँधमा राखेका हुन् ।

नेपाली समर्थकले आफ्नो टोलीलाई हराएर उपाधि जितेका नेदरल्यान्ड्सका खेलाडीसँग अटोग्राफसमेत लिएका थिए । यसको जवाफमा नेदरल्यान्ड्सका खेलाडीले नेपालीलाई ‘दयालुको संज्ञा दिएका थिए ।मंगलवार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले हराएर उपाधि जितेको हो ।

यसअघि ३ देश सम्मिलित शृंखलामा शीर्ष २ स्थानमा रहँदै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका थिए । लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगका शुरूवाती २ खेल गुमाउँदा पछिल्ला २ खेलमा भने जीत निकालेको थियो ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो ।तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र चौथोमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस