नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो २० ओभरमा ३ विकेट गुमाएर ७६ रन

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, ११ : ०३
नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो २० ओभरमा ३ विकेट गुमाएर ७६ रन

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले २० ओभरमा तीन विकेट गुमाएर ७६ रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३७ र पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेल नौ रन बनाउँदै क्रिजमा छन् ।

नेपालको रन रेट ३.८० रहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।

उनलाई नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले बास डे लिडद्वारा क्याच गराएका थिए । ८.३ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ४२ रन बनाएको थियो ।नेपालले दोस्रो विकेटमा रूपमा भने अनिल शाहलाई गुमाएको थियो ।

तेस्रो नम्बरका क्रिज समाल्न आएका अनिल ११ बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई भिभियन किङ्माले बोल्ड गरेका थिए । भिभियन किङ्माले लिएको यो दोस्रो विकेट थियो । ११औँ ओभरको अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५० रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटमा रूपमा कुशल मल्ललाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल नौ बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नेदरल्यान्ड्सका बलर आर्यन दत्तले एलबीडब्लूको धरापमा पारेका थिए । १३औँ ओभरको अन्तिम बलमा कुशल मल्ल आउट हुँदा नेपालले ५४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस