काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आइतबार बिहान त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
टोलीमा नेपालले दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन् । देव खनाल र सोमपाल कामी बेन्चमा छन् ।यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जीत निकालेका दुवै टोली आज विजयी नतिजाका साथ जारी शृंखला अन्त्य गर्ने लक्ष्यमा छन् ।
नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटले पराजित भएको थियो ।
नेदरल्यान्ड्सले नेपालसँग हार बेहोरे पनि दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो । तेस्रो खेलमा भने नामिबियाविरुद्ध २४ रनले पराजित भएको थियो ।पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया लिग–२ तालिकाको शीर्ष स्थानमा छ । नामिबियाको ६ अंक छ । समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १० : ४१
लेखकबाट थप