काठमाडौं। नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रतिस्पर्धी कम्पनीको तुलनामा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिने गरी व्यावसायिक सुधार गर्न लागिएको बताएका छन् । प्रतिस्पर्धी कम्पनीको भन्दा महँगो नहुने गरि भाडादर समायोजन लगायतका सुधारका काम शुरू भएको उनले बताए ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष अधिकारीले निगमको सेवा सुविधालाई अझ परिष्कृत गर्दै लगिने बताएका हुन् ।
‘राष्ट्रिय ध्वजावाहक जहाजमा जापानी भाषाको समेत व्यवस्था, अन्तराष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरी आवश्यक कार्य भइरहेको छ’, अधिकारीले भने ‘नेपाली मन भएका सबैले राष्ट्रिय ध्वजावाहक जहाजलाई माया गर्न तथा सरकारबाट पनि आवश्यक सहयोगको अपेक्षा राख्दछु ।’
निगमले १० वटा स्टेसनबाट अन्तर्राष्ट्रिय उडानमा सेवा दिइरहेको उल्लेख गर्दै अधिकारीले निकट भविष्यमै जापानको ओशाकाबाट सेवा दिने गरी कार्य भइरहेको जानकारी गराए । निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर जापानमा मृत्यु हुने नेपालीको शवलाई नेपाल लैजान सहयोग पुग्ने गरी आवश्यक गृहकार्य अघि बढाउने समेत प्रतिबद्धता जनाए ।
कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले अन्य प्रतिस्पर्धी वायु सेवा कम्पनीको तुलनामा नेपाल एयरलाइन्सले आफ्नो भाडादरमा सहुलियत दिने गरी सस्तो बनाउनका लागि निगमलाई आग्रह गरे ।
‘चन्द्र सूर्य अंकित झण्डाको सम्मानका लागि पनि नेपाल एयरलाइन्सको प्रयोग गरिनु पर्छ’, सुवेदीले भने ।
अन्तरक्रियामा सहभागीहरूले जापानमा मृत्यु हुने नेपालीको शव नेपाल पठाउन निगमबाट आवश्यक व्यवस्था गर्न माग गरे । खाली सिट हुँदासमेत टिकट नपाउने अवस्थामा सुधार ल्याउनु पर्ने, सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रिय स्तरको बनाइनु पर्ने तथा भाडादर सस्तो बनाइनु पर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, १४ : ३२
लेखकबाट थप