भरतपुर महानगरपालिकालाई सडक मर्मत गर्न १ करोड ७५ लाख निकासा

मंगलबार, २६ भदौ २०७५, १४ : २२
भरतपुर महानगरपालिकालाई सडक मर्मत गर्न १ करोड ७५ लाख निकासा

 चितवन । सडक बोर्ड नेपालले भरतपुर महानगरपालिकालाई सडक मर्मतका लागि १ करोड ७५ लाख रुपैयाँ रकम निकासा गरेको छ । भरतपुर महानगरसहित चितवनका सातवटा स्थानीय सरकारलाई सडक मर्मतका लागि ३ करोड ७० लाख रकम निकासा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतमा रहेको सडक बोर्ड नेपालले चालू आर्थिक वर्ष २०७५÷७६ का लागि सडक मर्मतसम्भारको लागि भरतपुर महानगरपालिकालाई १ करोड ७५ लाख रकम विनियोजन गरेको हो । महानगर प्रमुख रेनु दाहालले सडक मर्मत सम्भारको लागि उक्त रकम निकासा भएको बताइन् । उनले भनिन्, ‘जुन ठाउँमा सडक भत्केको छ, त्यही ठाउँमा हामी लगानी गरेर सडकलाई सफा, चिल्लो बनाउनेछौँ ।’ 
भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियानअन्तर्गत सो बजेट सडक मर्मतमा खर्च गरिने बताइन् । उनले भनिन्, ‘महानगरका सबै सडक कालोपत्रे गर्ने अभियानमा हामी लागेका छौँ ।’ उनका अनुसार भरतपुरलाई स्मार्ट सिटी बनाइरहँदा सडक सफा, स्वच्छ र सुन्दर हुन जरुरी छ । महानगर त्यो अभियानमा लागिरहेको छ । 

सडक बोर्ड नेपालले सबैभन्दा धेरै रकम भरतपुर महानगरपालिकाको लागि निकासा गरेको हो । यस्तै, रत्ननगर नगरपालिकाका लागि ७० लाख, खैरहनी नगरपालिकाका लागि ३५ लाख विनियोजन गरेको छ । माडी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकालाई ३०–३० लाख सडक मर्मतका लागि सडक बोर्ड नेपालले रकम निकासा गरेको छ । यसैगरी रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सडक बोर्डबाट सडक मर्मतको लागि ७० लाख बजेट आएको बताउँदै उक्त रकम उचित ठाउँमा खर्च गर्ने जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस