बेलायतका राजा चार्ल्स स्वास्थ्य उपचारमाः थप शाही जिम्मेवारी सम्हाल्दै राजकुमार विलियम

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १६ : २८
बेलायतका राजा चार्ल्स स्वास्थ्य उपचारमाः थप शाही जिम्मेवारी सम्हाल्दै राजकुमार विलियम

काठमाडौं। लन्डन–पिता तथा राजा चार्ल्स तृतीयको क्यान्सरको उपचार भइरहेको र आफ्नी श्रीमतीले पनि शल्यक्रियापछि आराम गर्नुपर्ने भएकाले बेलायती राजकुमार विलियमले शाही जिम्मेवारीको थप भार बहन गर्नुपरेको छ । 

राजा क्यान्सर निदानका लागि अस्पतालमा भर्ना हुनुपर्ने र क्याथरिनको पेटको अपरेसन भएकाले विलियमलाई बुधवारदेखि थप शाही बोझ काँधमा आएको हो ।

 

चार्ल्सका जेठा छोरा तथा सिंहासनका उत्तराधिकारी ४१ वर्षीय विलियमले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिन र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए ।

राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधवारदेखि काममा फर्किएका हुन् ।

 

 

उनले आफ्ना बुवाको उपचारका क्रममा चार्ल्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ । उपचारका क्रममा राजा चार्ल्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र रानी क्यामिलाले भार साझेदारी गर्नेछन् । क्यामिला चार्ल्सकी पत्नी हुन् । 

बकिङ्घम प्यालेसले ७५ वर्षीय राजालाई कुन प्रकारको क्यान्सर भएको भन्नेबारे केही बताएको छैन । यद्यपि उनलाई प्रोस्टेट क्यान्सर भने नभएको बुझिएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजाको स्वास्थ्यबारे सार्वजनिक सन्देशमा समस्या ‘छिट्टै नै पत्ता लागेको’ बएका थिए ।

सन् २०२२ सेप्टेम्बर ८ मा राजा चार्ल्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएको थियो । त्यसपछि चार्ल्स राजा बनेका थिए । शासनकालको १७ महिनापछि उनलाई यो समस्या रहेको पत्ता लागेको हो । 

प्रतिक्रिया दिनुहोस