काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ ।मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङ मार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङ मार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले यस्तो जानकारी दिएका हुन् ।
उनले आगामी मार्च ६ तारिक अर्थात फागुन २३ गते सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्नेगरी काम भइरहेको बताए । उनले मुख्य सुरुङ २.६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको बताए ।
उनले सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौँतर्फ केही मुआब्जा लगायतका समस्या केही समस्या अझै बाँकी रहेको बताए । अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको उनको भनाइ थियो ।
समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र ३ वटा अन्डर पास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएको उनले बताए ।समिति बैठकमा सांसदहरूले सुरुङ मार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्यलाईलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।
राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले समितिलाई आयोजनाले झुटो बोलेको बताए । उनले समितिलाई आयोजनाले ठगिरहेको भन्दै वर्तमान प्रविधिको युगमा समेत समितिलाई यकिन अवस्थाको विषयमा जानकारी दिन नसक्नु राम्रो नभएको बताए ।
यस्तै राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुरुङ मार्ग निर्माण गर्दा देखिएका जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्य रोक्न नहुने बताए । उनले सुरुङ निर्माणको काम समयमा नै सम्पन्न गर्न आवश्यक रहेको बताए ।
नागढुङ्गा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेल (उद्धार सुरुङ) को ‘ब्रेक थ्रु’ यसअघि नै भइसहेको छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको २.६ किमी लम्बाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, १४ : १६
लेखकबाट थप