एमाले नेता नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार, परिवारका केही सदस्यबाहेक अरुलाई भेटघाट बन्द

सफल खबर संवाददाता

मंगलबार, २३ माघ २०८०, १२ : ३०
एमाले नेता नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार, परिवारका केही सदस्यबाहेक अरुलाई भेटघाट बन्द

काठमाडौं। नेकपा (एमाले) नेता तथा सांसद वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । गत बुधबार 'ब्रेन स्ट्रोक' भएपछि ललितपुरको नेपाल मेडीसिटी हस्पिटलमा उपचाररत नेम्वाङको स्वास्थ्यमा सुधार भइरहेको उनकी श्रीमती भूमिका सुब्बाले जानकारी दिइन् ।

सुब्बाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको जानकारी दिएकी हुन् । 'मेरो श्रीमान बसन्तकुमार नेम्बाङ ललितपुरको नेपाल मेडीसिटी हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ स्थितिबारे बुझ्न मलाई धेरै कल र म्यासेजहरू आइरहेको छ । तर, मैले रेस्पोन्स गर्न सकिरहेको छुइनँ,' उनले लेखेकी छन्, 'हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ ।

अन्य बाहिरी संक्रमणबाट जोगाउन परिवारका केही सदस्यबाहेक भेटघाट नगराउनु भन्ने डाक्टरको सल्लाहअनुसार केही समय भेटघाट गराउन नसकिने समेत उनले जानकारी गराएकी छन् ।

गत बुधबार ताप्लेजुङमा रहँदा अचानक बिरामी भएका नेम्वाङलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । एमाले जिल्ला कमिटी, ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङलिङ पुगेका उनी अकस्मात् बिरामी परेका थिए । 

 

पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका नेम्वाङ खाना खाने क्रममा अचानक बिरामी परेका थिए । एक होटलमा खाना खाँदैगर्दा नेता नेम्वाङलाई अकस्मात् प्रेसरले हानेको थियो । नेम्वाङ पाँचथरमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी अहिले पार्टीका लागि ताप्लेजुङ जिल्ला इन्चार्ज तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस