काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
उद्योगका लागि भेरिएबल फ्रिक्वेन्सी ड्राइभ खरिद गर्दा आवश्यकता र औचित्य नभएको प्राविधिक दृष्टिले रितपूर्वक माग नभएको अवस्थामा खरिद ऐनविपरीत खरिद गरी भुक्तानीसमेत गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको हो ।
अख्तियारका प्रवक्ता नुरहरि घिमिरेका अनुसार सामान खरिदपश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको पाइएको हो ।
खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाट प्यानल उदयपुर सिमेन्ट उद्योगले प्राप्त गरेको ५ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमान पनि नबनाई आवश्यक पर्नेभन्दा अस्वाभाविक रूपमा बढी सामान खरिद गरी गराई हालसम्म परीक्षण नगरिएको पाइएको हो ।
खरिद गरिएको उक्त सामान हालसम्म प्रयोगमा नरहेको तथा २२ लाख ७८ हजार ३ सय ५ रुपैयाँ भुक्तानी समेत दिइएको हुनाले उनीहरूविरुद्ध सोही मूल्य बमोजिम बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक, लेखापाल र व्यवस्थापन समिति सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नक्कली प्रमाणपत्रको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक यादवविरुद्ध मुद्दा दायर
इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फरक-फरक जन्म मितिको नागरिकता पेश गरेर नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब बढी बिगो