राप्ती नदी सरसफाइमा जुटे नेपालगन्जका युवा

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, १५ : १३
राप्ती नदी सरसफाइमा जुटे नेपालगन्जका युवा

नेपालगञ्ज। बाँकेको राप्ती नदी आसपासमा फोहोर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् ।राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमालालगायत अन्य फोहोरजन्य कच्चापदार्थले नदीलाई कुरूप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेका हुन् ।

 

वरपर देखिने फोहोरले नदीलाई कुरुप बनाएको भन्दै यहाँका युवाले नदी वरपरको वातावरण स्वच्छ र स्वस्थ राख्न सरसफाइ गर्ने गरेका छन् । ‘ग्रीन नेपालगन्ज क्लिन नेपालगञ्ज’का युवाले नदी सरसफाइका लागि अभियान बनाएर काम गरिरहेका अभियानका प्रमुख डा. विनोद कर्णले बताए ।

 

ग्रीन नेपालगन्ज क्लिन नेपालगन्जका संस्थापक अध्यक्षसमेत रहेका कर्णले यस वर्षको दशैं तिहारलगायतका विभिन्न चाडपर्वका अवसरमा नदीमा मूर्ति विसर्जन गर्दा भएको फोहोर व्यवस्थापनका लागि युवाले सरसफाइ गरेको बताए ।

‘हाम्रो अभियान भनेको नेपालगन्जलाई स्वच्छ र स्वस्थ राख्ने हो । पर्यटकीय हिसाबले राप्ती नदी पनि नेपालगञ्जको एक महत्त्वपूर्णस्थल भएकाले हामीले नदी वरपरको फोहोरलाई व्यवस्थापन गरी सफा राख्ने प्रयास गरेका हौं’, उनले भने ।

नदी वरपर फ्याँकिएको फोहोर उठाएर नदीलाई सफा बनाउन फागुनको पहिलो हप्तासम्म सरसफाइलाई निरन्तरता दिइने कर्णले बताए । ‘यहाँ दशैंदेखिको फोहोर उठाइएको छैन ।

यहाँ देखिएजति सबै फोहोर उठाउनुपर्नेछ । माघ पूरै जाग्छ । फागुनको पहिलो हप्तासम्म सङ्कलन भएको फोहोर फोहोर व्यवस्थापन गरी सक्छौं ।’ अभियानअन्तर्गत नदी सरसफाइ पनि एउटा मुख्य काम भएको अभियन्ता उनले बताए ।

अभियानमा विमल प्रधान, महेश श्रेष्ठ, काशिम सिद्धिकी, किशोर केसी, उमेश शाह, नकुल खत्रीलगायत युवाको सहभागिता छ । अभियन्ता विमल प्रधानले नेपालगञ्जको पहिचानसँग जोडिएको राप्ती नदी सरसफाइ यहाँका युवाको जिम्मेवारी भएको बताए । ‘राप्ती नदी धार्मिकस्थलका रुपमा मात्र नभई आन्तरिक पर्यटकसँग पनि जोडिएकाले यसको सरसफाइमा हामीले ध्यान दिनैपर्छ’, उनले भने, ‘नदी वरपरको फोहोर व्यवस्थापन गर्नु सजिलो छैन ।’

बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने उक्त नदीमा विशेष गरी पूजाआजा र दाहसंस्कारका लागि मानिस जाने गर्दछन् ।नदीको बीच भागबाट वारिपट्टि डुडुवा–४ र ५ मा पर्ने उक्त नदी छेउमा तीर्थ, व्रत गर्नेको भीड लाग्ने गर्दछ । गर्मीको समयमा आन्तरिक पर्यटक नदीमा पौडी खेल्न जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस