टीआरसी विधेयक सर्वसम्मत नभए प्रक्रियाबाट टुङ्ग्याउनुपर्छ : सभामुख घिमिरे

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, १९ : २८
टीआरसी विधेयक सर्वसम्मत नभए प्रक्रियाबाट टुङ्ग्याउनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सर्वसम्मत शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन नसके प्रक्रियागत ढङ्गबाट टुङ्ग्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौँमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र विस्फोटक पदार्थका पीडितहरूको न्याय तथा माइन एक्सनमा समावेशिताको सवाल विषयक गोष्ठीमा उनले सबैको साझा समस्या भएकाले सकेसम्म सर्वसम्मत रूपमा टुङ्ग्याउनुपर्ने र सर्वसम्मत हुन नसके प्रक्रियागत रूपमा टुङ्ग्याइ कार्यान्वयनमा लैजानुपर्ने बताए ।

सभामुख घिमिरेले एकले अर्कोलाई दोष देखाएर नभई जिम्मेवारीमा बसेको बेलामा यसको समाधान खोज्नुपर्ने बताए ।सत्तापक्ष, प्रतिपक्ष, सरकार, गैरसरकारी संस्था, बुद्धिजीवी, राजनीतिज्ञहरू सबै मिलेर शान्ति प्रक्रियाका बाँकी काम ढिलो नगरी टुङ्ग्याउनुपर्ने उनको भनाइ छ ।

उनले शान्ति प्रक्रियाका बाँकी काम अमुकअमुक नेताहरूको मुद्दा अघि सारेर मात्रै नटुङ्गिने आशङ्का व्यक्त गरे ।‘कसैलाई जिम्मेवारी पन्छाएर होइन कि यो जिम्मेवारीलाई पूरा गर्न मेरो भूमिका के हुन्छ भन्ने कुरा राजनीतिक दल, सांसद र संसदले र अहिले यसलाई कार्यान्वयन गर्न आइपर्ने बाधा अप्ठेराहरू के हुन्, सरकारले यी सबै कुरा सोचेर यसको टुङ्गोमा पुग्नुपर्छ’, सभामुख घिमिरेले भने, ‘जहाँसम्म समय समयमा विधेयकहरू आउने, व्यापक रूपबाट विधेयकहरू छलफल हुने, पारित हुन नसक्ने यो स्थिति देशका राजनीतिक पार्टीहरूको जिम्मेवारीमाथि भर पर्छ ।’

सरकारले संसदमा टीआरसी विधेयक प्रस्तुत गरेको छ । त्यसलाई प्राथमिकताका साथ छलफलमा राख्न सभामुखको नाताले दिनुपर्ने प्राथमिकता, खेल्नुपर्ने भूमिका आफूले खेलेको उनले बताए ।