काठमाडौं महानगरकी उपप्रमुख डंगोल स्वदेश फिर्ता, यस्ता छन् अष्ट्रेलिया भ्रमणका उपलब्धि

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १६ : २५
काठमाडौं महानगरकी उपप्रमुख डंगोल स्वदेश फिर्ता, यस्ता छन् अष्ट्रेलिया भ्रमणका उपलब्धि

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अष्ट्रेलियाको विशेष भ्रमण पूरा गरी स्वदेश फर्किएकी छिन् । अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दूतावासको संयुक्त निमन्त्रणमा उनी अष्ट्रेलिया गएकी थिइन् ।​

अष्ट्रेलियास्थित सिड्नी, क्यानबेरा, होबर्ट र मेलबर्न शहरहरूको भ्रमण गर्नुका साथै उनले विभिन्न कार्यक्रममा पनि सहभागिता जनाएकी थिइन् । साथै उनले खनिज तथा उर्जा, कृषि पर्यटनलगायतको अवलोकन भ्रमणका समेत गरेकी थिइन् ।

 

यही मंसिर ८ गते अष्ट्रेलिया प्रस्थान गरेकी डंगोलले भ्रमणका क्रममा अष्ट्रेलियाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विभाग, सामाजिक नीति तथा महिला अन्तर्राष्ट्रिय संलग्नता शाखाका प्रमुख रोचेल हवाईसँग भेटवार्ता गरेकी थिइन् ।भेटमा महिला समावेशिता, संलग्नता र सशक्तिकरणसम्बन्धी कार्यक्रम, विभिन्न क्षेत्रहरूमा महिलाहरूको सहभागिता र लैंगिक विषयवस्तुको सुधारबारे छलफल भएको उनले जानकारी दिइन् ।

 

 

 

उनका अनुसार भेटमा एसीटी महिला योजना २०१६ – २०२६ बारे पनि छलफल भएको थियो । ‘भ्रमणका क्रममा एसीटीका मुख्यमन्त्री एण्ड्रियु बार बारसँग भेट गरी काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने विषयसँग सम्बन्धी आवश्यक पहल भयो,’ उनले भनिन्, ‘ऊर्जा आवश्यकताको व्यवस्थापन, नेपाल र अष्ट्रेलियाबीच प्रत्यक्ष हवाई उडान, स्थानीय भाषा र संस्कृति प्रवर्द्धनका लागि स्थानीय पाठ्यक्रमको विकास र निर्माणबारे पनि आवश्यक साझेदारी गर्ने बारे छलफल भयो ।’

सन् २०१७ पछि सम्भवतः पहिलोपटक यसरी जनप्रतिनिधिलाई विशेष महत्व दिएर बोलाइएको उक्त भ्रमणका क्रममा मानव संशाधन, लैंगिक समानता, आधुनिक दासप्रथाविरुद्धको अभियानलगायतका कार्यक्रमका सन्दर्भमा सम्भावित साझेदारी र समन्वय गर्न अष्ट्रेलियाली अन्तर्राष्ट्रिय मामिला तथा व्यापार विभागका वरिष्ठ अधिकृत ग्यारी कोवेनसँग पनि भेट भएको थियो ।

भेटमा अष्ट्रेलियामा आदिवासी जनजातिको ज्ञान, सीप. मूल्य र मान्यतालाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन कसरी गरिएको रहेछ भने ज्ञान आदानप्रदान गरिएको उपप्रमुख डंगोलले जानकारी दिइन् । 

भ्रमणका क्रममा न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीहरूसँग बैठक र अवलोकन भएको थियो भने उक्त भेटमा ऐतिहासिक र संस्कृतिक महत्व बोकेको मूर्त तथा अमूर्त संस्कृतिक सम्पदा फर्काउने टोलीसँग पनि भेट भएको थियो ।

‘सन् १९७१ पछि नेपालबाट गैरकानूनी रुपमा हटाइएको पद्मपनिको मूर्तिलाई न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीले सन् २०१० मा धेरै चरण लगाएर खरिद गरेको रहेछ । उक्त ऐतिहासिक महत्व बोकेको पद्मपनिको मुिर्तलाई नेपाल फर्काउने आवश्यक पहल र प्रक्रिया बारे कुराकानी भयो,’ डंगोलले भनिन्, ‘त्यसैगरी सिड्नी लोर्डका उपप्रमुख रोबर्ट कोकसँग भेटवार्ता भयो । भेटमा नेपाल र अष्ट्रेलियाका स्थानीय तहहरू बीचको समानता र भिन्नता, स्थानीय न्यायिक समिति, सहरी योजना र विकासका प्राथमिकताको बारे छलफल भयो ।’

भ्रमणकै सिलसिलामा उपप्रमुख डंगोलले (उत्तर सिड्नीको) अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालयमा आयोजित महिला नेतृत्व र कार्यालयमा महिलाको सहभागिताबारे कार्यशालामा सहभागी बनेकी थिइन् ।

‘अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालयमा ठूलो संख्यामा नेपाली विधार्थीहरू रहेको र विभिन्न क्षेत्रहरूमा नेपालको स्थानीय तहसँग साझेदारी र समन्वय गरी विभिन्न कार्यक्रमहरू गर्न इच्छुक रहेको पाइयो,’ उनले भनिन्, ‘काठमाडौं महानगरपालिका र अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालयबीच गर्न सकिने साझेदारी बारे प्राध्यापक, पूर्वविधार्थी संगठन र महिला उद्यमीसँग सकारात्मक छलफल भयो ।’

भ्रमणका सिलसिलामा न्यू साउथ व्हेल्सको निर्देशक र पूर्व अष्ट्रेलियन राजदूत क्रिसपिन कोनरोय र संयुक्त राष्ट्रसंघ महिलाकी प्रतिनिधि जेन रोनफेल्डसँग पनि भेटवार्ता भएको थियो । भेटमा दुई देश बीचको दुई पक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र अनुभव आदानप्रदान गर्ने विषयमा केन्द्रित भएको थियो ।

युनेस्को क्रिएटिभ सिटी अफ फिल्म सिड्नीको निर्देशक क्यास हेपवोर्थसँग पनि भेट भएको डंगोलले जानकारी दिइन् । ‘काठमाडौं महानगरपालिकालाई पनि युनेस्को क्रिएटिभ सिटीले पुरस्कार प्रदान गरेको हुँदा सिटी अफ फिल्म सिड्नीसँग गुणस्तरीय चलचित्र प्रवर्द्धन गर्न सम्भावित राष्ट्रिय तथा अन्तराष्ट्रिय साझेदारीबारे विस्तुत रुपमा छलफल भयो,’ उनले भनिन्, ‘उक्त भेट काठमाडौं महानगरपालिकालाई चलचित्र विकासलाई आर्थिक सहयोग गर्न, मार्गनिर्देशन प्रदान गर्न र चलचित्र मेला आयोजना गर्न थप सिकाई भयो ।  भेटले नयाँ र नविन कला, संस्कृति र नवीनता उद्योगसम्बन्धी नीति तयार गरी स्क्रिन पर्यटनको सम्भावनालाई समेत साकार बनाउन मद्दत गर्ने अनुमान गरेका छौं ।’​

क्यानबेरा शहरसँगको दुई पक्षीय साझेदारीलाई सुदृढ गर्न विभिन्न अष्ट्रेलियाली सरकारी पदाधिकारीसँग पनि भेट भएको थियो । त्यसैगरी मिडल्याण्ड साउथ र केन्द्रीय एसिया शाखाका सहसचिव स्टिभेन बराक्लोग र एपीएस एयनबीका निर्देशक जो फ्रेडेरीकसेनसँग भेट भएको थियो । भेटमा नेपाली विधार्थीको लागि कर्जा, आवास, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन र आदिवासी जनजातिको हित र विकासबारे वृहत् छलफल भएको उनले जानकारी दिइन् । 

‘भ्रमणका क्रममा अष्ट्रेलियाली संघीय सरकारका माननीय पिटर खलिलसँग भेट भयो । उक्त भेटमा दुई देश बीचको संघीय प्रणालीबारे छलफल भयो,’ डंगोलले भनिन्, ‘भेटमा संघीय अभ्यास प्रभावकारिता र पारदर्शितालाई थप सशक्तिकरण गर्नका लागि सम्भावित साझेदारी र समन्वय बीच छलफल भयो ।’

भ्रमणका सिलसिलामा अष्ट्रेलियाली राष्ट्रिय पुँजी प्राधिकरणका कार्यकारी निर्देशक स्याली बार्नेससँग पनि उपमेयर डंगोलले भेट गरेकी थिइन् । ‘भेटमा शहरी योजनाको प्राथमिकताहरूको प्रभावकारी ढंगले पहिचान गर्ने पद्धति, निलो – हरियो संजाल, आर्थिक पहुँचको विकास, अवसरको विस्तार, सहरी विकासका लागि रणनीतिक मार्ग, समावेशी र दिगो समुदायको विकासबारे सम्भावित कार्यक्रम, योजनातर्जुमा र सम्भावित साझेदारीबारे छलफल भयो,’ उनले भनिन्, ‘भ्रमणका क्रममा नेपाली संगठन र नेपाली समुदायसँग भेट गरी नेपाली कला, सभ्यता, संस्कृति, मूर्त तथा अमूर्त संस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनबारे गहन छलफल भयो ।

नेपाली युवाहरूको वैदेशिक शिक्षा र बसाइसराईको प्रमुख गन्तव्य बनेको अष्ट्रेलियामा नेपालीको जनसंख्या बढ्दै गएको देखिन्छ । यिनै अवस्थामा काठमाडौं महानगरलाई शिक्षा, संस्कृति, अन्तर्राष्ट्रिय मामिला र दुई देश बीचको दुई पक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन आगामी दिनमा यस भ्रमणले थोरै भए पनि थप टेवा पुर्याउने अपेक्षा लिएका छौं ।’उक्त कार्यक्रम भित्र विभिन्न अन्य कार्यक्रमहरूमा सहभागी हुन लागेको सम्पूर्ण खर्च अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयले बेहोरेको महानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस