काेशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित

सफल खबर संवाददाता

आइतबार, १० मंसिर २०८०, १५ : ५३
काेशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले ल्याएको बजेट प्रतिस्थापन विधेयक कोशी प्रदेश सभाबाट पास भएको छ ।

कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न शनिवार कोशी प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक पेस गरेका थिए । उनले पेस गरेको विधेयक छलफल पछि सर्वसम्मतले पारित भएको हो ।

विधेयक पास गर्न एमालेले समेत सहयोग गरेको छ । एमालेले समेत बिधियेकमा समर्थन गर्दै पास गरेको हो । कार्कीले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट अनुमान गर्दै बजेट प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेका थिए ।

उनले पेस गरेको विधेयकमा चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरेका छन् । सङ्घीय अनुदान बचत फिर्ताका लागि २ अर्ब राखिएको छ ।

विधेयकमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ आउने अनुमान गरिएको छ ।

यस्तै, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार रुप्रयाँको श्रोत अनुमान गरिएको छ । यस्तै नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० रुपैयाँ हुने अनुमान गरिएको छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । उनले पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस