काठमाडौँ । काठमाडौँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।
बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । बल्खु र तीनकुनेमा हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।
प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।
प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् ।
प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन् ।
प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर बनाइएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेश सिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ गठन गरिएको छ ।
प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले गर्दैछन् । बल्खु र तीनकुनेमा हुने प्रदर्शनमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए ।
प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न असम्भव भएको काठमाडौँ एसएसपी भूपेन्द्र खत्रीले बताए ।
काठमाडौँ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई वटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जाल विधेयक फिर्ता माग्दै माइतीघरमा प्रदर्शन
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन
रास्वपाका कार्यकर्ताले गरे पर्सामा प्रदर्शन
चितवनमा रविका समर्थकद्वारा प्रदर्शन
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते