आगामी अधिवेशनलाई सशक्त बनाउँछौँ : सांसद ढकाल

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, १० : ४०
आगामी अधिवेशनलाई सशक्त बनाउँछौँ : सांसद ढकाल

काठमाडौँ । “सदन सत्तापक्ष र प्रतिपक्ष सवाल जवाफ उही पुरातन सोच र ढङ्गबाट जसरी २० वर्ष चल्थ्यो, त्यसैगरी चल्यो” सदनको पछिल्ला दुई अधिवेशनबारेको जिज्ञासामा प्रतिनिधिसभा सदस्य हरि ढकालले प्रतिक्रिया दिए । 

दोस्रो अधिवेशनमा रास्वपाले सदनमा दर्ता गराएको दुई सार्वजनिक महत्व र पाँच सङ्कल्प प्रस्ताव सदनमा प्रस्तुतसमेत भएन । उनले सदनमा प्रतिपक्ष हुनेबित्तिकै विरोध र सत्तापक्ष हुनेबित्तिकै बचाउ गर्ने संस्कारप्रति टिप्पणी गरे ।

संसद्मा पुरातनशैलीको यथास्थितिमा रमाउन खोज्ने दलहरूको हालीमुहाली भएको उनको आरोप छ । “सदनमा सत्तापक्षका सरकारको सङ्ख्याका आधारमा नै हामीले गरेका संशोधनहरू ‘फेल’ भए’, उनले भने, “तर हामीले हालेका संशोधन फेल गराइरहँदा, सदन सकिएपछि सत्तापक्षकै सांसदहरूले ‘कस्तो राम्रो संशोधन हाल्नुभएको पास हुन सकेन हाम्रो त यस्तै छ, यसरी नै चलिरहेको छ”, भन्ने प्रतिक्रिया दिनुहुन्छ । 

सरकार र सदन दुवैले कानुन निर्माणमा ध्यान केन्द्रित गर्न नसकेको अवस्थामा उनी भन्छन्, “सरकार सञ्चालकहरू यो सङ्ख्याले सरकार कति मजबुत छ भनेर सङ्ख्या गन्न मात्र लागिपरेको छ । सरकार बनिसकेपछि सदनले सत्ताको जोडघटाउमा होइन कानुन बनाउनमा केन्द्रित हुनुपर्ने हो ।”

सदनको सम्पन्न दुई अधिवेशनको समीक्षा गर्दै रास्वपाका नेता  ढकालले आफ्नो पार्टीको उपस्थितिले सदनमा आमनागरिकको चासो बढेको दाबी गरे । उनले भने, “यसपटकको उपलब्धि सोध्नुहुन्छ भने, हाम्रो उपस्थितिका कारण सदनप्रति नागरिकको चासो बढेको छ ।”

संवादका क्रममा उनले आगामी अधिवेशनलाई अघिल्ला दुई अधिवेशनजस्तै हुन नदिने सङ्कल्पसमेत  व्यक्त गरे ।  “हामी पनि सिकारु थियौँ, यो ११ महिनाको अनुभवबाट धेरै सिक्यौँ । आउने अधिवेशनमा अझ बढी सशक्तरूपमा प्रस्तुत हुनेछौँ”, उनले भने ।

युवा सांसद ढकालले आगामी हिउँदे अधिवेशनमा सफल संसदीय अभ्यासका लागि अन्य राजनीतिक दलका नेताहरूसँग पनि अनौपचारिकरूपमा निरन्तर छलफल जारी राखेको बताए । “जनताले पनि राजनीतिक दल र जनप्रतिनिधिलाई सिर्जनात्मक, रचनात्मक सुझाव र खबरदारी गर्नुपर्छ”, सांसद ढकालले भने ।
  
विधायिकको भूमिकामाथि प्रश्न
वडाध्यक्ष, नगर प्रमुख र सांसदलाई आउने जनगुनासोको प्रकृति उस्तै छन् । विधायिकाको भूमिकाबारे आमजनता स्पष्ट छैनन् । जनप्रतिनिधिले नै आमजनतालाई विधायिकाको भूमिकाबारे बुझाउन चाहेनन् । विकास निर्माणको जिम्मा पनि सांसदले लिएर हिँडने पुरानो संस्कारका कारण स्थानीय तहको भूमिका र सांसदको भूमिकाबीच जनतामा स्पष्टता नभएको सांसद ढकालको भनाइ छ । 

“जनतामा समेत सरकारले होइन, फलानो सांसद र नेताले हालेको बजेट भन्ने छ । मेरो निर्वाचन क्षेत्रमा पूर्वसांसदहरूले बाटाको नामसमेत आफ्नो नाममा राख्नुभएको छ”, उनले भने, “सांसदले आफ्नो मुख्य काम कानुन निर्माण हो है भन्ने बुझाउनुपर्ने ठाउँमा उहाँहरू सडक, पुल, कलर्भट र धारा बनाउन लागिपर्नुभएको छ ।”

प्रतिक्रिया दिनुहोस