राम्रो स्क्रिप्ट खोज्दा समय लाग्यो : निर्देशक निश्चल

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, ११ : ४४
राम्रो स्क्रिप्ट खोज्दा समय लाग्यो : निर्देशक निश्चल

काठमाडौँ । निर्देशक निश्चल बस्नेतले दर्शकलाई एउटा राम्रो फिल्म दिन ‘दिमाग खराब’ निर्माण भएको बताए ।  उनले फिल्मको कथा र विषयवस्तु नै राम्रो भएको दाबी गरे ।आगामी २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘दिमाग खराब’ मार्फत निश्चलले करिब ६ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् ।

२०६८ मा प्रदर्शित हिट फिल्म ‘लुट’बाट निर्देशनमा होमिएका निश्चल पहिलो फिल्मबाटै स्थापित भएका थिए ।त्यसपछि आएका उनका फिल्म ‘लुट–२’ अनि ‘टलकजंग भर्सेस् टुल्के’ले भने दर्शक रिझाउन सकेन । सायद त्यसैले पनि होला अर्को फिल्म ल्याउन उनलाई ६ वर्ष लाग्यो ।

बिहीबार आयोजित पत्रकार भेटघाटको क्रममा निश्चललाई पत्रकारको प्रश्न थियो । चौथो फिल्म ल्याउन ६ वर्ष किन लाग्यो ? ।‘मलाई स्क्रिप्ट चित्त नबुझेसम्म फिल्म बनाइहालौँ जस्तो लाग्दैन । कमी कमजोरी थाहा हुँदाहुँदै फिल्म बनाइयो भने जोखिम हुन्छ । त्यसैले स्क्रिप्टमा होमवर्क गर्दा समय लाग्यो’ निश्चले भने ‘ अब यसलाई कमब्याक भने पनि जे भने पनि हुन्छ ।’ अबको फिल्म बनाउन भने धेरै समय नलाग्ने उनले सुनाए ।

केही अगाडिसम्म सुनसान फिल्मको पछिल्लो समय प्रचार प्रसार राम्रो छ । ट्रेलर र टिजरको कारण पनि दर्शकमा फिल्म प्रति उत्सुकता छ । धेरै पछि निश्चलले फिल्म निर्देशन गरेको कारण पनि दर्शकले फिल्मबाट राम्रो अपेक्षा गरेका छन् ।  निश्चलले दर्शकको अपेक्षा फिल्मले पूरा गर्ने बताए ।

‘ट्रेलर कतिले राम्रै पनि भन्नुभएको छ । कतिपयले सबै चीज ट्रेलरमा नै आयो भन्नुभएको छ । कसैले लामो भयो समेत भनेर भनेका छन्’, निश्चलले थपे ‘ट्रेलरमा फिल्मको सबै कुरो खुलेको छैन । ट्रेलरमा देखाएको भन्दा पनि बढी छ फिल्म ।’

एउटा विदेश जान लागेको पात्र, उसले भोग्नुपर्ने समस्या र त्यसले उसको जीवनमा पार्ने प्रभावको विषयमा फिल्म बनेको छ ।

‘फिल्मले एउटा व्यक्तिको जीवन र भोगाइ बोल्छ’, निश्चले थपे ‘ट्रेलरमा देखाइएको विविध पक्ष उनीसँग जोडिएर आउने पात्र हुन् ।’ ती पात्रले दुखलाई पार लगाउने बाटो कसरी खोज्छ अनि पार लगाउन सक्छ कि सक्दैन भन्ने पक्षलाई फिल्मले रोचक तरिकाले प्रस्तुतगर्छ । दर्शक त्यसमा रमाउने उनको धारणा रहेको थियो ।

ट्रेलर हेर्दा ‘दिमाग खराब’ राजनीतिक विषयमा बनेको फिल्म जस्तो पनि लाग्छ । फिल्मले सत्ताको दिमाग खराब गर्छ कि दर्शकको ?

‘झर्को लागेर, झ्याउ लागेर, फिल्म हेर्न नसकेर, गाह्रो भएर दर्शकको ‘दिमाग खराब’ भयो  । यो भयो भने बर्बाद भयो ’ उनले अगाडि थपे ‘फिल्मले दर्शकका जोस दियो, एक किसिमको मजा दियो भने दिमाग खराब राम्रो हो ।’ आफूले दोस्रो प्रकारले दिमाग खराब गर्ने प्रयास गरेको उनले राखे । 

प्रतिक्रिया दिनुहोस