एजेन्सी । कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि पोर्चुगलले युरोकप फूटबल प्रतियोगिताको छनोटमा बोस्निया एन्ड हर्जगोभिनामाथि फराकिलो जीत निकालेको छ ।
सोमवार राति भएको खेलमा पोर्चुगलले घरेलु टोली बोस्निया एन्ड हर्जगोभिनामाथि ५–० गोल अन्तरको फराकिलो जीत निकालेको हो ।
सबै गोल पहिलो हाफमै सम्भव भएका थिए । रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेलको पाँचौ मिनेटमै पोर्चुगलको खाता खोलेका थिए । त्यसपछि २० औँ मिनेटमा उनैले गोल गर्दै अग्रता दोब्बर बनाए ।
यसपछि पनि पोर्चुगलको आक्रमण रोकिएन । ब्रुनो फर्नान्डेले २५ औँ मिनेटमा तेस्रो गोल थपे । जाओ कान्सेलो र जाओ फेलिक्सले क्रमशः ३२ र ४१ औँ मिनेटमा गोल गरेपछि पोर्चुगलले मध्यान्तरअघि नै ५ गोलको अग्रता लियो । तर, दोस्रो हाफमा कुनै गोल नभएपछि खेल ५–० मै सकियो ।
आगामी वर्ष जर्मनीमा हुन गइरहेको युरोकपमा पोर्चुगल यसअघि नै छनोट भइसकेको थियो, तर यस जीतले समूह ‘जे’को विजेता बनेको छ ।
जारी छनोटमा ८ खेल खेल्दा पोर्चुगलले शतप्रतिशत जीत निकाल्दै २४ अंक बनाएको छ । अझै २ खेल बाँकी रहँदा स्लोभाकिया १६ अंकसहित दोस्रो स्थानमा छ । बोस्निया एन्ड हर्जगोभिना भने छनोट प्रतिस्पर्धाबाट बाहिरिएको छ ।
सोमवार राति नै भएको खेलमा अजरबैजानलाई पराजित गर्दै अष्ट्रिया युरोकपमा छनोट भएको छ । घरेलु टोली अजरबैजानलाई १–० गोलको झिनो अन्तरले हराउँदै अष्ट्रियाले टिकट पक्का गरेको हो ।
अष्ट्रियाको जीतमा मार्सेल सबिट्जरले निर्णायक गोल गरेका हुन् । ग्विडो बर्गस्टालरले रातो कार्ड खाएपछि अष्ट्रिया अन्तिम समय १० खेलाडीमा सीमित भएको थियो ।
यस्तै अर्को खेलमा ग्रीसलाई १–० ले हराउँदै एक पटकको विजेता नेदरल्यान्ड्सले सिधै छनोट हुने सम्भावना जीवितै राखेको छ । नेदरल्यान्ड्सको जीतमा कप्तान भर्गिल भान डाइकले इन्जुरी समयमा पेनाल्टीमार्फत् निर्णायक गोल गरेका थिए ।
यस जीतसँगै समूह ‘बी’ रहेको नेदरल्यान्ड्स सिधै छनोट हुनलाई उपर्युक्त दोस्रो स्थानमा उक्लिएको छ । यो समूहबाट फ्रान्स छनोट भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३० असोज २०८०, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकुना र रोनाल्डोले पोथी हात्ती खोज्दै बस्तीमा आएपछि निजीलाई एकीकृत गर्न माग
रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की
रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ कपबाट बाहिरियो अल नासर
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी