दाङ । गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारु कुमाललाई विगतमा जस्तो अहिले आफै माटो मुच्छने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनु पर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नु पर्ने समस्या छैन ।
परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटो मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका माटोका भाँडा पकाउन आधुनिक भट्टी निर्माण भएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको राजुकमार बताउँछन् ।
‘पहिले जंगलबाट ल्याएको माटो मुच्छनै समस्या हुन्थ्यो तर अहिले मेसिनबाट एकैछिनमा माटो तयार हुन्छ,’ राजकुमारले भने, ‘प्रविधिका बारेमा थाहा नहुँदा काममा ढिलाइसँगै दुःख हुन्थ्यो तर अहिले यी समस्या हटेका छन् ।’ प्रविधिले गर्दा काम छिटो हुनुका साथै धेरै सामग्री उत्पादन गरेर बिक्री गर्दा आम्दानी समेत बढेको उनी बताउँछन् । राजकुमारको जस्तै अनुभव छ, सोही ठाउँ निवासी ५६ वर्षीय तारा थारु कुमालको पनि ।
लामो समय परम्परागत आफूले माटो मुछ्नेदेखि हाते चक्काको भरमा माटोका सामग्री बनाएका ताराले विगत एक वर्षदेखि मोटरका माध्यमबाट चक्का चलाएर माटोका भाँडा बनाउँदै आएको बताउँछन् । ‘पहिलेको तुलनामा अहिले माटो मुछ्नेदेखि बनाएका भाँडा पकाउनसमेत सजिलो भएको छ,’ उनले भने, ‘जसले गर्दा थकाइ नलाग्ने र छोटो समयमै धेरै काम गर्न सकिने भएको छ ।’
माटोका भाँडा बनाउने पेसामा दुःख र मिहिनेत धेरै गर्नु पर्ने भएका कारण लामो समय गर्न नसक्ने अवस्था भएको भन्दै प्रविधिको सहजताले पछिसम्म पनि काम गर्न सकिन्छ कि भन्ने आँट पलाएको उनी बताउँछन् । ‘परम्परागत रूपमा पहिले काम गर्दा माटो मुछ्नेदेखि पकाउन समस्या थियो, कहिलेकाहीँ त मिहिनेत नै खेर जाने अवस्था हुन्थ्यो’, पत्रिङ्गा निवासी ताराले भने, ‘अहिले त्यो जोखिम छैन, प्रविधिको सहजताले माटो मुछ्ने, भाँडा बनाउनेदेखि पकाउनसमेत आधुनिक भट्टी बनेको छ ।’
आधुनिक भट्टीका कारण कम दाउरामै धेरै सामग्री पाक्ने गरेको उनी बताउँछन् । उनीहरूले माटोबाट घैँटा, मट्टे, गमला, पाला, करुवा, हाँडी, खुत्रुकेलगायतका आकर्षक सामग्री तयार पारी बिक्री गर्दै आएका छन् । पछिल्लो समय दसैँ, तिहारलगायतका पर्वमा बत्ती बाल्ने पाला, घरमा पुष्प रोप्नका लागि गमलासँगै विभिन्न सांस्कृतिक कार्यक्रममा चौधरी समुदायका महिलाले बोकेर लैजाने मट्टेलगायतका सामग्री राम्रै बिक्री हुने उनी बताउँछन् ।
यसरी बनाइएका सामग्री पहिले बोकेरै बिक्री गर्न गाउँगाउँ जाने गरे पनि पछिल्लो समय घरबाटै बिक्री हुने गरेको राजुकमार बताउँछन् । ‘पहिले बनाएका सामाग्री बिक्रीका लागि आफै जानु पर्ने अवस्था थियो तर अहिले घरबाटै बिक्री हुने गर्दछन्’, उनले भने, ‘हामीले बनाइ दिन्छाैं, व्यापारी घरमै आएर लग्ने गर्छन् ।’
विगतको तुलनामा कम बिक्री
पछिल्लो समय माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी हुँदै आएको छ । प्रविधिको विकाससँगै धातु तथा प्लास्टिकका सामग्रीको प्रयोग बढेपछि माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी आएको गढवा गाउँपालिका–३ गैरा निवासी कमला कुमाल बताउँछिन् । विशेषगरी प्लास्टिकका भाँडाको प्रयोग बढेपछि माटोका भाडा बिक्रीमा कमी आउनुका साथै केही परिवारले काम नै छोडेको उनी बताउँछिन् ।
दसैँ, तिहार लगायतका पर्वमा बिक्री हुने पालालाई पछिल्लो समयमा झिलिमिली बिजुली बत्तीसँगै घैँटा, मट्टे, करुवा, गिलासलाई धातु र प्लास्टिकका गिलासले विस्थापित गरे पनि पछिल्लो समय परम्परागत सामग्रीले प्राथमिकता पाउन थालेपछि केही उत्साह थपिएको उनी बताउँछिन् ।
उनका अनुसार पछिल्लो समय मट्का चियाका लागि गिलाससँगै कार्यक्रममा सजाउनका लागि गमला, मट्टेलगायतका भाँडा बिक्री हुने गरेको उनी बताउँछिन् । ‘माटोका भाँडा बनाउने पेसालाई आधुनिकीकरण गर्दै यो पेसामा लागेका मानिसलाई तालिमसम्मको व्यवस्था स्थानीय सरकारले गर्दैछ,’ उनले भनिन्, ‘यो कुमाल समुदायका लागि राम्रो काम हो, जसले गर्दा भोलिका दिनमा नयाँ पुस्ताले समेत यो कामलाई निरन्तरता दिने आशा पलाएको छ ।’
कुमाल समुदायको परम्परागत पेसाको संरक्षणसँगै गढवा गाउँपालिकालाई माटोको सेरामिक हब बनाउने तयारीमा गाउँपालिका लागेको गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले बताइन् ।
सेरामिक हबका लागि सम्भाव्यता अध्ययन
यसैबीच गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययनको काम भइरहेको छ । ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंका चार सदस्यीय र सेरामिक हब सम्भाव्यता अध्ययन समितिका संयोजक र सदस्य सहितको टोलीले गढवा गाउँपालिकाको विभिन्न स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको सेरामिक हब सम्भाव्यता अध्ययन समितिका संयोजक आशाराम चौधरी बताउँछन् ।
गढवामा माटोको भाँडा बनाउने व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न गढवा गाउँपालिकाले सुरु गरेको र ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सीपलाई आधुनिकीकरण गर्ने र भविष्यमा पालिकालाई नै सेरामिकको हब बनाउने योजनाअनुसार काम भइरहेको छ ।
माटाका भाँडा बनाउने परम्परागत कलालाई संरक्षण गर्दै प्रविधिमैत्री बनाउने र त्यसलाई आर्थिक उपार्जनसँग जोड्ने लक्ष्यअनुसार गढवा गाउँपालिका लागेको उनले बताए । गढवा गाउँपालिकाको वडा नं. ६ को गढवा, १ को पत्रिङ्गा र ३ को खैरामा माटोका भाँडा बनाउने काम हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ असोज २०८०, १२ : १३
लेखकबाट थप