एजेन्सी । जारी आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबिचको वहुप्रतिक्षीत भिडन्त शनिबार हुँदै छ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । भारत र पाकिस्तानबिचको दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । यी दुई राष्ट्रको राजनीतिक सम्बन्धको प्रभाव क्रिकेटमा समेत पर्ने गरेको छ । त्यसैले पनि विश्वभरका करोडौँ क्रिकेट प्रेमीलाई यी दुई राष्ट्रबिचको खेलको प्रशिक्षा रहन्छ ।
यी दुवै राष्ट्रले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । त्यसैले यी दुवै राष्ट्रको विश्वकपमा यो १३औँ सहभागिता हो । भारत र पाकिस्तान दुवै एकदिवसीय विश्वकपको पूर्वविजेता पनि हुन् ।
भारतले दुई र पाकिस्तानले एकपटक विश्वकपको उपाधि उचालेका छन् । भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितेको थियो । पाकिस्तानी टोलीले भने सन् १९९२ मा विश्वकपको उपाधि चुमेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा पनि यी दुई टोली नै पहिलो र दोस्रो स्थानमा छन् ।
भारत आईसीसी वरीयताको पहिलो स्थानमा आसीन छ । पाकिस्तान वरीयताको दोस्रो स्थानमा छ । १३औँ विश्वकप सुरु हुनुअघि पाकिस्तानलाई नै पछि पार्दै भारत एकदिवसीय वरीयताको पहिलो स्थानमा उक्लिएको हो ।
जारी विश्वकपमा हालसम्म यी दुवै राष्ट्रले दुई—दुई खेल खेलिसकेका छन् । दुवै खेलमा यी दुवै टोलीले शतप्रतिशत नतिजा निकालेका छन् । आयोजक राष्ट्र भारतले आफ्नो पहिलो खेलमा पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो ।
आफ्नो दोस्रो खेलमा भारतले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानमाथि आठ विकेटको जित निकालेको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । दोस्रो खेलमा पाकिस्तानले श्रीलङ्कामाथि ६ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ असोज २०८०, ०७ : २२
लेखकबाट थप