काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् । उनले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गरे । उनले छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँदा कुनै औपचारिक कार्यक्रम समेत नभएको बताए ।
उनले भने, ‘हाम्रो मित्रराष्ट्र छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भू–भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भू–भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ, यत्रो ठुलो भ्रमण हाम्रो देशमा यो कुटी, गुन्जी अहिले सम्माननीय सभामुख आसिन हुनुभएको चेयरको अगाडीको डेस्कको चुच्चे नक्सा भित्र नै पर्छ । हामीले नै पास गरेको, यो सदनले पास गरेको यो चुच्चे नक्शाभित्र हाम्रो भू–भाग पर्छ । त्यसकारणले त्यस भुभागभित्र गुन्जी पनि पर्छ । जहाँ छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभयो भन्ने समाचार आयो । यसको आधिकारिकताका लागि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरियो हामी त्यहाँ जान पाउदैनौँ । हामीले पनि थाहा पायौँ भन्ने कुरा उहाँले पनि जानकारी गराउनुभयो । म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठुलो भ्रमण आफ्नो भूमिमा, आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमण बारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? यत्रो ठुलो भ्रमणमा मित्र राष्ट्र, छिमेकी राष्ट्रको त्यति ठुलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम हुनुपर्दैन ? त्यसका औपचारिकताहरू हुँदैनन् ? त्यसकारणले यस बारेमा सम्मानित सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनुप-यो ।’
उनले सो क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्सामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अदालतमा रविले दिए इन्कारी बयान
रवि लामिछानेसँग बयान सुरु
रविलाई बयानका लागि अदालत लगियो
रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित
रवि लामिछानेको सांसद पद निलम्बनविरुद्ध अदालत जाँदै रास्वपा
रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो