चीनलाई दुई सयभन्दा बढी स्वर्ण पदक जिताउँदै आज सकिँदैछ १९ औँ एसियाली खेलकुद

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, १३ : २४
चीनलाई दुई सयभन्दा बढी स्वर्ण पदक जिताउँदै आज सकिँदैछ १९ औँ एसियाली खेलकुद

काठमाडौँ। चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता आइतबार सकिँदैछ । पदक तालिकामा आयोजक राष्ट्र चीनलाई पहिलो बनाउँदै एसियाली खेलकुद सम्पन्न हुन लागेको हो । प्रतियोगिताको अन्तिम दिन आइतबारसम्म चीनले दुई सय एक स्वर्ण पदक जितिसकेको छ ।

प्रतियोगिताको समापन समारोह चीनका प्रधानमन्त्री ली छ्याङको प्रमुख आतिथ्यमा हुनेछ । समापन समारोहमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु पनि अतिथिको रुपमा सहभागी हुने समाचारमा जनाइएको छ ।

प्रतियोगिताको समापन समारोहपछि चिनिया प्रधानमन्त्रीले विदेशी अथितिहरुको सम्मानमा रात्री भोजको समेत आयोजना गर्नेछन् । यसका अतिरिक्त उनले विदेशी पाहुनाहरुसँग दुईपक्षीय भेटघाट पनि गर्ने समाचारमा जनाइएको छ । प्रतियोगिताको समापन समारोह हाङ्झोउ ओलम्पिक स्पोर्टस सेन्ट स्टेडियममा आयोजना हुनेछ ।

समापन समारोहलाई उल्लासमय बनाउने विशेष कार्यक्रम आयोजना गरिने भएको छ । एसियाली खेलकुदको समापन समारोह नेपाली समयअनुसार, साँझ ५ः४५ बजे सुरु हुने बताइएको छ ।प्रतियोगिताको अन्तिम दिन आइतबार दिउँसोसम्म अधिकांश पदकको छिनोफानो भइसकेको छ । पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले हालसम्म ५२ वटा स्वर्ण पदक जितिसकेको छ । नेपालले पनि एसियाली खेलकुदको यो संस्करणमा एक रजत र एक कांस्य पदक जितेको छ ।

नेपालका लागि कराँते खेलाडी एरिका गुरुङले रजत पदक जितेकी हुन् । पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको नेपालले जितेको यो तेस्रो कांस्य पदक हो । यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।सविताले जितेको त्यो पदक एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा नेपालले जितेको पहिलो रजत पदक थियो ।

यसका अतिरिक्त २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा नेपालका लागि प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो ।त्यसपछि कराँते एसियाली खेलकुदमा देशका लागि रजत पदक जित्ने तेस्रो खेल बनेको छ । एसियाली खेलकुदमा नेपाली कराँते खेलाडीले यसअघि कांस्य पदकमात्र जित्न सकेका थिए । त्यसैले यो पदक नेपालका लागि ऐतिहासिक बन्न पुगेको छ ।

यसैगरी चीनमा जारी एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुद प्रतियोगिताको पहिलो सहभागितामै कांस्य पदक जितेको हो ।

जारी एसियाली खेलकुद प्रतियोगिताको पदक तालिकामा छिमेकी राष्ट्र भारत पनि २८ वटा स्वणर् पदक जित्दै चौथो स्थानमा आसिन छ । प्रतियोगिताको अन्तिम दिन आइतबार दिउँसोसम्म ३८ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति दर्ता गराएका छन् ।

सहभागी ४५ मध्ये २७ राष्ट्रले स्वणर् पदक जितेका छन् । स्वणर् पदक जित्ने २७औँ राष्ट्र म्यानमार हो । ३१ राष्ट्रले रजत पदक हात पारेका छन् । नेपालसहित सातवटा राष्ट्रले भने हालसम्म कांस्य पदकमात्र जित्न सकेका छन् ।

प्रतिक्रिया दिनुहोस