नेपालगञ्जमा आज पनि कर्फ्यु

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, ०९ : ०९
नेपालगञ्जमा आज पनि कर्फ्यु

नेपालगन्ज । स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा आज पनि कर्फ्युलाई निरन्तरता दिएको छ। 

मंगलबार दिउँसो १ बजेदेखि जारी भएको अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। 

दुई धार्मिक समुदायबीच तनाव बढ्ने अवस्था सिर्जना भएपछि मंगलबार दिउँसोदेखि बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन्।

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ।

कर्फ्यूको कारण बुधबार बिहानैदेखि नेपालगञ्ज क्षेत्र सुनसान छ। बजार र यातायात बन्द छ। नागरिकहरु घरभित्रै बसेका छन्। 

दुई धार्मिक समूहबीचको तनाव चुलिएपछि नेपालगञ्ज नगर क्षेत्रमा मंगलबार साँझदेखि सेना परिचालन गरिएको छ। दुई धार्मिक समूहहरुबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो।

प्रतिक्रिया दिनुहोस