पहिलो हाफमा मालदिभ्सविरुद्ध नेपाललाई २ गोलको अग्रता

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०८०, १४ : ५२
पहिलो हाफमा मालदिभ्सविरुद्ध नेपाललाई २ गोलको अग्रता

काठमाडौँ । साफ यु-१९ फुटबल च्याम्पियनसिपअन्तर्गत मालदिभ्स र नेपालबीच जारी खेलमा घरेलु टोली नेपालले पहिलो हाफमा २ गोलको अग्रता बनाएको छ।सेमिफाइनलमा स्थान बनाउन जित्नै पर्ने दबाबमा रहेको नेपालले पहिलो हाफको अग्रतासँगै खेलमा पकड कायम गरेको हो।

नेपाललाई अग्रता दिलाउने क्रममा १८ औँ मिनेटमा प्रशान्त लक्ष्यमनले लङ रेन्जबाट गरेको प्रहार माल्दिभ्सका गोलरक्षक मोहम्मद यमीनले राम्रो जर्ज गर्न नसक्दा पहिलो गोल खान पुगेको थियो।

नेपालको अग्रता दोब्बर बनाउन ३० औँ मिनेटमा समीर तामाङले गोल गरेका थिए। उनले आकर्षण रूपमा डिफेन्डर कट गर्दै गरेको प्रहारले जाली चुमेपछि पहिलो हाफमा नेपाल २(० को अग्रता बनाउन सफल भयो।

यद्यपि नेपाल र मालदिभ्स दुवै टोली ३५ औँ मिनेटमा १० खेलाडीमा समेटिए।नेपालका सुजन डङ्गोल र बङ्गलादेशका मोहम्मद इयानलाई सिधै रातो कार्ड दिएर मैदानबाट बाहिर पठाइयो। यी दुईबीच हातहालाहाल भएपछि रेफ्रीले रातो कार्ड दिएका हुन्।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको थियो। मालदिभ्सले भने पाकिस्तानसँग १–१ गोलको बराबरी खेल्दै एक अङ्क खोस्न सफल भएको थियो। मालदिभ्ससँगको बराबरीसँगै पाकिस्तान सेमिफाइनलमा पुग्न सफल भयो।

मालदिभ्सलाई भने सेमिफाइनल पुग्नका लागि नेपाललाई कम्तिमा बराबरीमा रोक्नु पर्ने छ। पाकिस्तान ४ अङ्कसहित सेमिफाइनल प्रवेश गर्दा मालदिभ्सको १ अङ्क छ। नेपाल अङ्कविहीन रहेको छ।

समूह ‘बी’मा भारत र भुटान सेमिफाइनल प्रवेश गरिसकेका छन्। समूह विजेता बन्न अन्तिम खेलमा ५स्३० मा भुटान र भारत भिड्दै छन्। समूह ‘बी’ बाट बङ्गलादेश भुटानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रतिक्रिया दिनुहोस