काठमाडौँ । १९ औँ एसियाली खेलकुद प्रतियोगितामा महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंकाबीच भिडन्त हुने भएको छ । आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै श्रीलंका फाइनलमा पुगेको हो ।यसअघि खेलिएको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई आठ विकेटले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा नौ विकेट गुमाएर ७५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले १६.३ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । श्रीलंकाका लागि हर्षिथा सामराबिक्रमाले २३ रनको योगदान गरिन् । अनुष्का सञ्जिवनीले पनि १५ रन बनाइन् ।
कप्तान चामरी आथापाथुले १४ रन जोडिन् । निलाक्षी डा.सिल्भा १८ रनमा अविजित रहिन् । हसिनी परेरा भने एक रनमा अविजित रहिन् । त्यसअघि पाकिस्तानका लागि सवाल जुल्फिकारले १६, मुनिबा अलीले १३ र ओमाइमा सोहिलले १० रन बनाएका थिए । श्रीलंकाली बलर युदेशिका प्रबोधनीले तीन र कविसा दिल्हारीले दुई विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, १५ : ५४
लेखकबाट थप