चालु आर्थिक वर्ष २०७४/०७५ मा ५१ लाख ५० हजार टन धानको उत्पादन भएको प्रारम्भिक तथ्याङ आएको छ । धानको रोपाईको सिजनमा तराईमा गएको बाढी पहिरो लगायतको कारणले यो वर्ष धानको उत्पादनमा कमी आएको हो ।
प्रारम्भिक तथ्यांकलाई आधार मान्दा गतवर्र्षभन्दा यो वर्ष धानको उत्पादनमा ८० हजार टन गिरावट आएको छ । गएको आर्थिक वर्ष २०७३/०७४ मा ५२ लाख ३० हजार टन धानको उत्पादन भएको थियो ।
मन्त्रालयका वरिष्ठ सुचना अधिकारी तथा वरिष्ठ कृषि विज्ञ मणिरत्न अर्यालले यो वर्ष ५१ लाख ५० हजार टन धान उत्पादन भएको प्रारम्भिक तथ्याङक आएको जानकारी दिए । “यो प्रारम्भिक तथ्यांक हो,” उनले भने “भेरिफिकेशन हुन बाँकी नै छ ।” उनका अनुसार अहिले मन्त्रालयको प्राविधिक समितिमा पेश भएको छ । तथ्यांकमा केही थपघट हुनसक्छ ।
मन्त्रालयका अनुसार धानको उत्पादन मुलुकको जीडीपीमा ४.५ प्रतिशत हिस्सा रहेको छ । गएको वर्ष मात्रै १ खर्ब ४ अर्ब रुपैयाँको धान उत्पादन भएको थियो ।
कृषि विज्ञहरुले यो वर्ष धान उत्पादन घटेकोले मुलुकको जिडीपी तथा आर्थिक बृद्धिदरमा प्रभाव पर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस